प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल


काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार आज अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको छ । माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । माओवादी केन्द्रका अनुसार सबै प्रदेशको प्रतिनिधित्व र कार्यक्षमता प्रदर्शन गर्न सक्नेलाई मन्त्रिमण्डलमा पठाइएको छ । प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइएको भए पनि प्रमुख स्वकीय सचिव महराले भने नाम सार्वजनिक गर्न चाहनुभएन । उहाँले भन्नुभयो, “सबै वर्ग, क्षेत्र तथा कार्यक्षमता हेरेर पार्टीले निर्णय गरेको छ । शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक भइहाल्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ । यही फागुन ३ गते ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो । प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकार विस्तारका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचमा छलफल भएको जानकारी दिनुभयो ।
नेकपा (एमाले) र माओवादी केन्द्रमा मन्त्री बन्नेहरुको आकांक्षी बढी भएपछि छलफलका लागि समय लागेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदै आएको थियो । राष्ट्रपति कार्यालयले आज अपराह्न ४ बजे शपथ ग्रहणको तयारी गरेको छ । प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदा मन्त्रिमण्डल तीन सदस्यीय बनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?