मन्त्रिपरिषद् विस्तार, थपिए चार मन्त्री


काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका छन् । विस्तारित मन्त्रीमण्डलमा चार जना मन्त्री थपिएका छन् । नेकपा एमालेबाट पार्टी महासचिव ईश्वर पोखरेल, डा. युवराज खतिवडा, माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’ र मातृका यादव मन्त्री बनेका छन् । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले उपेन्द्र यादव नेतृत्वको फोरम नेपाललाई सरकारमा सहभागी गराउने भगीरथ प्रयत्न गर्दा पनि सफल भएको देखिएन । यस्तै सर्वोच्च अदालतले राष्ट्रियसभामा मनोनीत डा. खतिवडालाई शपथ ग्रहण नगराउन आइतबार अन्तरिम आदेश जारी गरेता पनि प्रधानमन्त्री ओलीले उनलाई अर्थमन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्री पोखरेलाई रक्षा, बादललाई गृह, मातृका यादवलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाइएकी थिइन् । यसअघि मन्त्रीमण्डलमा सहभागी लालबाबु पण्डित र थममाया थापासहित ओली मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ । ओली मन्त्रीमण्डल किस्तबन्दीमा विस्तार भएको छ । एमाले र माओवादीबीच पार्टी एकीकरणको प्रस्ट रूपरेखा तयार नभएसम्म मन्त्रीमण्डल किस्ताबन्दीमा विस्तार हुने एक माओवादी नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?