एमाले र माओवादीको अन्तरिम विधानमाथि छलफल हुने


काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्र बीचको एकीकरणका लागि अन्तरिम विधानमाथि मंगलबार छलफल हुने भएको छ । दुवै दलका कार्यदलले आगामी साताभित्र अन्तरिम विधान मस्यौदा तयार गरी पार्टी एकता संयोजन समितिमा पेस गर्ने निर्णय गरेको थियो । यसअघि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुवै पार्टीको विधान र पार्टी सञ्चालनका नियमावली अध्ययनका लागि बुझेका थिए । संयुक्त बैठकले दुई पार्टीका कमिटीहरूको समायोजन, जनवर्गीय संगठनहरूको सञ्चालन एवं समायोजनका विषयमा विचारविमर्श गर्नेछ ।
अघिल्लो कार्यदलको बैठकमा एमालेको विधान, पार्टी र जनसंगठन सञ्चालन नियमावली, पार्टी सदस्यहरूको अभिलेखको विवरण माओवादी नेताहरूलाई अध्ययन गर्न दिइएको थियो । माओवादीको केन्द्रीय समितिमा ४ हजार सदस्य भएकाले तथ्यगत रेकर्ड उपलब्ध हुन नसकेको बताइएको छ ।
दुई पार्टीको एकतापछि केन्द्रीय तहमा महाधिवेशन, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी समिति हुनेछ भने प्रदेश र स्थानीय तहमा कार्यकारी कमिटी रहने कार्यदलबीच समझदारी भएको छ । यस्तै जिल्ला तहमा समन्वयकारी कमिटी रहने पनि कार्यदलमा समझदारी बनेको छ । अन्तरिम विधान मस्यौदा गर्न बनेको कार्यदलले मस्यौदा पार्टी एकता संयोजन समितिमा पेस गर्नेछ । एकता संयोजन समितिले अनुमोदन गरेपछि एमाले–माओवादी एकताले सांगठनिक रूप लिनेछ । यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको संयुक्त रूपमा अध्यक्षता गर्ने सहमति भइसकेको छ । पार्टीको एकता महाधिवेशनबाट भने एकजना अध्यक्ष रहने गरी नेतृत्व चयन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?