श्रीदेवीको पार्थिव शरीर ल्याउन ढिलाई


मुम्बई: भारतीय चलचित्र जगत्की चर्चित अभिनेत्री श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याउनका लागि कोशिस जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
चर्चित अभिनेत्री श्रीदेवीको गत शनिबार राती वाथटपको पानीमा डुबेर निधन भएको बताइएको छ । संयुक्त अरब इमिरेट्सका लागि भारतीय राजदूत नवदीव सूरीले श्रीदेवीको पार्थिव शरीर छिटोभन्दा छिटो भारतमा ल्याउन युएई सरकारको स्थानीय प्रशासनसँग मिलेर काम गरिरहेको सामाजिक सञ्जालमार्फत जनाएका छन् । तर, राजदूत सूरीले कहिलेसम्म श्रीदेवीको पार्थिव शरीर भारतमा ल्याइने हो सोको भने केही उल्लेख गरेको छैन । श्रीदेवी आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन दुबई गएकी थिइन् ।अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेकोले उनको पार्थिव शरीरलाई मंगलबार मध्याह्नसम्म पनि मुम्बई ल्याउन सकिएको छैन । सोमबार साँझसम्म उनको पार्थिव शरीरलाई मुम्बई ल्याइने र मंगलबार अन्तिम संस्कार हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
‘डेथ सर्टिफिकेट’ प्राप्त नभएकाले ढिला भएको र त्यो प्राप्त गरेपछि स्वदेश पठाइने दुबईमा रहेको भारतीय दूतावासका अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूकाअनुसार संयुक्त अरब इमिरेट्सको स्थानीय समयअनुसार अपराह्न ३ः३० बजे उनको पार्थिव शरीर आफन्तजनलाई दिने जानकारी रसिद अस्पतालले दिएको छ ।श्रीदेवीको निधनको समाचारले भारतीय सिने जगत्का साथै उनलाई मन पराउने सर्वसाधारणलगायत विदेशीसमेत स्तब्ध भएका छन् ।

साथै श्रीदेवीको असामयिक निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरूले शोक व्यक्त गरेका छन् ।चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षको मात्र थिइन् । उनले मिस्टर इन्डिया, चाँदनी, मावली, तोहफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरूपमा सफल चलचित्रमा अभिनय गरेकी छन् । उनको जन्म सन् १९६३ को अगस्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । श्रीदेवीको डेढ सयभन्दा बढी चलचित्र रहेका छन् ।चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगत्मा प्रवेश गरेकी थिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?