दिवंगत पितृको स्मृतिमा तोरन्ल चाड मनाउँदै थकाली


दिवंगत पितृको स्मृतिमा तोरन्ल चाड मनाउँदै थकाली

वासुदेव पौडेल

पोखरा : “वर्षमा पर्ने बा¥हैमहिनाको आ–आफ्नै विशेषता रहनेमा फागुन महिना थकाली जातिका लागि निकै महत्वपूर्ण महिना हो,”–थकाली संस्कृतिका जानकार एवं थकाली सेवा समाज पोखराका सदस्य ध्रुवकुमार भट्टचनले भन्नुभयो ।
थकाली जातिले फागुन महिनालाई पवित्र महिनाका रुपमा लिने गरेको बताउँदै उहाँले यसै महिनामा पर्ने फागुपूर्णिमाका अघि र पछिका एक÷एक दिनसहित तीन दिन तोरन्ल चाड मनाउने गरिएको जानकारी दिनुभयो ।
थकालीहरूले दिवंगत पितृलाई स्मरण एवं पूजा आराधना गरी उनीहरूको आर्शिवाद लिने पर्वका रुपमा तोरन्ल पर्व मनाउने गरिएको उहाँले जानकारी दिनुभयो । “तोरन्ल चाड पहाडी फागुपूर्णिमालाई बीचमा पारी मनाउने गरिएको छ,” उहाँले भन्नुभयो, “यस समयमा पितृलाई घरको मुख्य मानिसले फलफुल, ध्यू, मह, मासुका परिकार, रक्सी, जाँड सेलरोटी, चेप्टो रोटी झिनिया, चौरीको छुर्पी जस्ता परिकार चढाएर पितृबाट आर्शिवाद लिने गरिन्छ ।”
पितृलाई परिकार चढाउने काम रातको लगभग १०० बजे ३.०० बजेसम्म गर्ने प्रचलन रहेको अर्का थकाली संस्कृतिका जानकार रतन गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार पितृलाई अत्यन्त सुनसान समय मानिस तथा अन्य चराचर नहिँड्ने, चरा नकराउने समय पारेर चढाउने प्राचीन प्रचलनअनुरुप रातको समयमा प्रसाद चढाउने गरिएको हो ।
प्रसाद चढाइसकेपछि घरका सबै परिवार जम्मा भएर हाँसीखुसीका साथ तोरन्ल प्रसाद खाने प्रचलन रहेको उहाँले बताउनुभयो । तोरन्ल चाडका अवसरमा पुरुष थकालीले पाँच दिनसम्म धनुषवाण(तारा हान्ने खेल) खेल्ने र महिलाले कौडाको खेल खेल्ने गरेको गौचनले जानकारी दिनुभयो । यस अवसरमा विभिन्न थकाली समुदायमा नाचगान, हाँस्यव्यङ जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ । यस पर्वमा छोरी ज्वाइँका साथै दिदीबहिनी र भाञ्जाभाञ्जीलाई घरमा बोलाएर स्वादिष्ट भोजन गराएर एक आपसमा खुसीयाली साट्ने प्रचलन छ ।
मुस्ताङको थाक खोलामा भने तोरन्ल चाड फागुन महिनाभर विभिन्न कार्यक्रम गरे मनाउने गरिएको छ । मुस्ताङ जिल्लाको थाक खोला मुख्य गढका रुपमा मानिने थकाली समुदायका व्यक्ति नेपालका कुना कुनामा पुगिसकेको पाइन्छ ।
तिब्बती–बर्मेली परिवार अन्तर्गत पर्ने यो जातिले बोल्ने थकाली भाषा गुरुङ (तमु) र तामाङ भाषासँग मिल्दोजुल्दो पाइन्छ । प्राचीन कालदेखि व्यापार व्यवसायमा निपूर्ण मानिने यस जातिमा गौचन, तुलाचन, शेरचन, भट्टचन जस्ता थर रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?