डा. केसी पुनः आमरण अनशन बस्ने


एबिपी नेपाल

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी पुनः आमरण अनशन बस्ने भएका छन् । डा. केसीले यही फागुन २९ गतेदेखि दुईबुँदे मागसहित अनशन बस्ने शनिबार चेतावनी दिएका छन् ।
डा केसीले सर्वोच्च अदालतका विवादास्पद प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुपर्ने, राजीनामा नदिए महाभियोग प्रक्रियाबाट हटाउनुपर्ने र चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
डा. केसीद्वारा प्रकाशित विज्ञप्तिको रूपरेखा ः
‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका मुद्दामा हामी निरन्तर लडिआएको विदितै छ । त्यसै क्रममा न्यायालयलगायत देशका संवैधानिक निकायका पदाधिकारीहरूलाई समेत जवाफदेही बनाएर ती निकायको कार्य सम्पादन निष्पक्ष र प्रभावकारी हुनुपर्छ भनेर हामीले बारम्बार भन्दै आएका छौं ।
त्यसै क्रममा प्रधानन्यायाधीश गोपाल पराजुलीले गरेको भ्रष्टाचार र चरम पदीय दुरुपयोगका कारण नेपालको न्यायालयको मर्यादामा गहिरो आँच पुगेकाले न्यायालयको मर्यादा फर्काउनका लागि पनि उनले पद छाड्नुपर्छ भनेर हामीले यसअघि एक चरण सत्याग्रह गरिसकेका छौं । त्यस क्रममा रातारात अवैध रूपमा हामीमाथि धरपकड गरिए पनि अन्ततः सर्वोच्च अदालतको इजलासले प्रधानन्यायाधीश पराजुलीको विवादित नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएर अनुसन्धान गर्ने आदेश दियो । त्यो अवस्थामा निष्पक्ष न्याय सम्पादनका लागि उनले पद छाड्नुपर्छ भनेर हामीले निरन्तर भन्दै आएका छौं ।’ यसैबीच पराजुलीचाहिँ हाम्रातर्फका वकिललाई आफैं ज्यान मार्ने धम्की दिनेसम्मका कुकृत्यमा संलग्न मात्र भएनन्, मिडियामाथि सेन्सरसिप लगाएर आफ्ना कुकर्महरू छोप्ने प्रयासमा लागिरहेका छन् । लोकतान्त्रिक व्यवस्थामा योभन्दा लाजमर्दो अवस्था अर्को हुन सक्दैन ।’

‘त्यसैले अब न्यायालयको छवि थप धमिलिन र न्याय सम्पादनमा थप भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्नका लागि लगत्तै बस्ने संसद्ले उनीमाथि महाभियोग लगाएर हटाउनुको विकल्प छैन । साथै संसद्ले चिकित्सा शिक्षा अध्यादेशलाई पनि यथाशीघ्र ऐनमा परिणत गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं । समयमै सही रूपमा ऐन पारित नभएको खण्डमा त्यसका लागि उचित कदम चाल्न हामी बाध्य हुनेछौं । तत्काल चाहिँ गोपाल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त्य गर्नका लागि हामी सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं । त्यसैले निम्न मागहरू पूरा नभएको खण्डमा यही फाल्गुण २९ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गर्दछौं ।’

मागहरु

१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसिप लगाउन प्रयास गर्ने प्रधानन्यायाधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानबिन र कारबाही गरियोस् ।

२) चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठह¥याइएका पदाधिकारीहरूलाई तत्काल आयोगको सिफारिसबमोजिम कारबाही गरियोस् ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?