फागुन २८ गते दोस्रो सप्तरी महोत्सव


राजविराज:: सप्तरीको राजविराजमा यही फागुन २८ गते प्रदेश नम्बर २ को प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव आयोजना हुने भएको छ ।
सप्तरी उद्योग वाणिज्य संघको मूल आयोजना तथा जिल्ला समन्वय समितिको सहआयोजना एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल पर्यटन बोर्ड, काठमाडौँको प्रवद्र्धनमा महोत्सव आयोजना हुन लागेको संघका अध्यक्ष अरुणकुमार प्रधानले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
‘उद्योग, कृषि, पर्यटन, व्यापार, सांस्कृतिक तथा हस्तकलासहित स्थानीय वस्तुको प्रवद्र्धनका लागि प्रदेश नम्बर २ प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव भव्यताका साथ सफल पारौँ’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने उहाँले बताउनुभयो ।
महोत्सवको मुख्य आकर्षणका रुपमा औद्योगिक प्रदर्शनी तथा खरिद बिक्री, दैनिक उपभोग्य सामग्रीको प्रदर्शनी तथा खरिद बिक्री, बाल उद्यान तथा मनोरञ्जन, स्थानीय कला संस्कृति प्रदर्शन, पर्यटन प्रवद्र्धन तथा गन्तव्य पहिचान गराउने, स्थानीय भाषाको गीत तथा नृत्यु प्रदर्शन, सूचना प्रविधिको प्रदर्शन, इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री बताइएको छ ।
पर्यटन क्षेत्रको पहिचान तथा विकासमा सहयोग गर्ने, आधुनिक नयाँ प्रविधि, उपकरण एवं मेसिनको बारेमा जानकारी गराउने, उत्पादन र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि गर्ने, लगानीका अवसर सिर्जना गर्ने, मिथिला, थारु, मुस्लिम, मारवाडी, नेवार, मगरसहितको विभिन्न संस्कृतिको सांस्कृतिक प्रदर्शनी तथा खानाको परिकार लगायतका उद्देश्य रहेको अध्यक्ष प्रधानले बताउनुभयो ।
महोत्सवमा १५० वटा विभिन्न प्रकारका स्टल रहने जनाइएको छ । करिब रु एक करोड ५५ लाखसम्म महोत्सवमा खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?