केमिकल वैज्ञानिक सम्मेलन शुरु


चितवन: अन्तर्राष्ट्रिय केमिकल वैज्ञानिक सम्मेलन सौराहामा बिहीबार साँझदेखि शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का उपकुलपति जीवराज पोख्रेलले गर्नुभएको हो । सम्मेलनमा देश तथा विदेशका वैज्ञानिकले आआफ्नो देशमा भएका खोज, अनुसन्धान, उपलब्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने संस्थाका सदस्य मनोज विष्टले जानकारी दिनुभयो ।
सम्मेलन उद्घाटनका अवसरमा चितवनमा राजनीतिज्ञ, शिक्षण पेशा, समाजसेवा एवं पर्यटन क्षेत्रमा योगदान दिएका पाँचजना व्यक्तिलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा खम्बसिंह कुंँवर, महेश्वरलाल श्रेष्ठ, आनन्द दराई, प्रा डा गणेशप्रसाद खरेल र मरणोपरान्त स्व मल्लु चौधरी रहेका छन् । अन्तर्राष्ट्रियस्तरमा र नेपालमा भएका खोज, अनुसन्धान एवं उपलब्धि र ज्ञान साटासाट गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रा डा अमरप्रसाद यादवले जानकारी दिनुभयो ।
नेपाल केमिकल सोसाइटी र वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरको संयुक्त आयोजनामा सम्मेलन शुरु भएको हो । सम्मेलनमा २० देशका १०० जना र स्वदेशका १०० वैज्ञानिकको सहभागिता रहेको छ । उनीहरुले १७० वटा कार्यपत्र एवं पोष्टर प्रस्तुत गर्नेछन् । सम्मेलनमा विशिष्ट अतिथि प्रदेशमन्त्री दावा दोर्जे लामा, फेडेरसन अफ एशियन सोसाइटीका अध्यक्ष डेविड इन्कलरलगायत रहनुभएको थियो । सम्मेलनको अध्यक्षता संस्थाका अध्यक्ष अमर यादवले गर्नुभएको थियो । सम्मेलनको दोस्रो दिन आज बिहानदेखि नै कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएका छन् । ‘केमेष्ट्री फर सष्टेनेवल डेभलपमेन्ट’ मूलनारा दिइएको सम्मेलन शनिबारसम्म चल्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?