तीन कारागार सञ्चालनमा आउने


काठमाडौँ: एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् । कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो ।
विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो । “कैदीबन्दीको संख्या बढेसँगै कारागारको संख्या थप गर्नुपरेको हो,”– उहाँले भन्नुभयो । भूकम्पले केही कारागार भत्किएको र केही कारागार नयाँ निर्माण हुने चरणमा रहेको उहाँको भनाइ थियो । नेपालमा हाल ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने कैदीबन्दीको संख्या १८ हजार ५०० रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?