सिरियाली युद्ध अपराध रोक्न राष्ट्रसंघ विफल: सिरियाली प्रतिपक्षी


रियाद, साउदी अरब: सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघ असफल भएको बताउनुभएको छ । प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरिरिले रियादमा सञ्चारकर्मीसँग शनिबार भन्नुभयो, “हामीले सिरियाको गुटा लगायतका क्षेत्रमा अपराधलाई रोक्न असफल हुनुमा प्रत्यक्ष जिम्मेवार राष्ट्रसंघ, सुरक्षा परिषद् र विश्व समुदायको मौनता भएको ठहर गरेका छौँ ।” “तर यो पनि विसिन्नौँ कि सिरियामा अपराध फैलाउन प्रत्यक्ष भूमिका निर्वाह गर्ने पक्ष भनेको सिरियाली सरकार र यसलाई साथ दिने मुलुक नै हुन् ।” रसियाबाट सहयोग प्राप्त सिरियाली सरकारी बलले पूर्वी गुटा क्षेत्रमा गत फेब्रुवरीदेखि आक्रमण थालेको र झण्डै ७० प्रतिशत भूभाग पुनः कब्जामा लिएको छ । उक्त कारबाहीमा सयौँ बालबालिकासहित एक हजार ४०० सर्वसाधारणको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स,ले जनाएको छ ।
उक्त क्षेत्रमा सरकारी फौजले गरेको आक्रमणबाट जोगिन शुक्रबार र शनिबार झण्डै ४० हजार सर्वसाधारण सरकार नियन्त्रित क्षेत्रमा भाग्न बाध्य भएका बताइएको छ ।
सन् २०११ मा सुरु भएको सरकार विरोधिआन्दोलनका क्रममा यहाँका तीन लाख ५० हजार नागरिकले ज्यान गुमाएका छन् भने जनसङ्ख्याको झण्डै आधा सङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?