बेलायत र इयूबीच ब्रेक्जिटपछिको सङ्क्रमणकालका लागि सम्झौता


ब्रसेल्स, बेल्जियम: बेलायत र यूरोपेली संघ (इयू)ले सोमबार बेलायतको इयूबाट हुने बहिर्गमनपछिको सङ्क्रमणकाल व्यवस्थापन गर्ने बिषयमा सोमबार सम्झौता भएको छ । इयूका तर्फबाट वार्तामा सहभागी मिसेल बार्नियरले भन्नुभयो, “बहिर्गमन हुने दिन सन् २०१९ को मार्च २९ पछि सङ्क्रमणकाल व्यवस्थापन सम्झौता दुई बर्षका लागि लागू हुनेछ ।” दुई पक्षबीच आएरल्याण्डको सीमा मामिला समाधानजस्ता पेचिला बिषयलाई पनि सम्झौतामा उल्लेख गरिएको छ ।
ब्रसेल्समा गत हप्ता भएको गहन छलफलबाट दुईपक्षबीच सहमतिमा पुग्न सफल भएको बार्नियरले बताउनुभयो । सम्झौतापछि संयुक्त पत्रकार सम्मेलन गर्दै इयूका लागि तत्कालिन बेलायती विदेशमन्त्री डयाभिड ड्याभिडले सङ्क्रमणकालीन सम्झौताले बेलायत र इयूमा रहेका व्यवसायीको माग अनुसार अनिश्चिततालाई अन्त्य गर्न सफल भएको बताउनुभयो । सङ्क्रमणकालीन सम्झौतालाई आगामी हप्ता ब्रसेल्समा हुने इयूका नेताले अनुमोदन गर्ने विश्वास गरिएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?