समृद्धिका लागि समाजवादी ढाँचाको विकास पद्धति: अध्यक्ष दाहाल


काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि समाजवादी ढाँचाको विकास पद्धति अबलम्वन गरिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब परम्परागत तवरले देशको विकास नहुने भएकाले वर्तमान सरकारले नयाँ ढाँचा र प्रणालीसहितको विकासको खाका ल्याउने उल्लेख गर्नुभयो । संािवधानप्रदत्त समाजवादी मूल्य र मान्यतालाई केन्द्रमा राखेर विकासको नयाँ अध्याय शुरु गर्न लागिएको भन्दै उहाँले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि नयाँ विकास पद्धति आवश्यक रहेको बताउनुभयो । “सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गर्दै विकासको समाजवादी मोडल निर्माण गर्ने वाम गठबन्धनको योजना छ, मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर मात्रै विकासको समाजवादी मोडल निर्माण गर्न सकिन्छ भन्ने हामीले ठहर गरेका छाँै”, अध्यक्ष दाहालले भन्नुभयो । प्रचण्डले संविधान संशोधनकै माध्यमबाट पनि असन्तुष्ट समुदायको अधिकारलाई सुनिश्चित गर्ने आधार तय भइसकेको पनि उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले पार्टी एकतालाई अन्तिम टुंगोमा पु¥याउने तयारी भइरहेको स्पष्ट पार्दै एकताका लागि गठित कार्यदलले आइतबारसम्म आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश गर्ने पनि बताउनुभयो । अध्यक्ष दाहालले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता मुलुकको आवश्यकताले तय गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सचिव अजम्बर काङमाङ राईलगायत नयाँ शक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष दाहालले पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशी राईले समाजवादको यात्रा तय गर्ने लक्ष्यका साथ आफूहरु वाम गठबन्धनमा सहभागी भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?