जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा


सुर्खेत: जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ । गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलाको पहलमा कोइरेली गाउँ महिला हिंसामुक्त नमूना गाउँ बन्नु सबैका लागि राम्रो सन्देश भएको बताउनुभयो ।
उहाँका अनुसार गाउँ सभाबाट यहाँका महिलाको कार्यबोझ घटाउन कुटानी पिसानी मिल, सिलाइकटाई, हाते होजियारी तालीम र अन्य व्यावसायिक आत्मनिर्भर हुने कार्यक्रममा ध्यान दिएको छ ।
उक्त नमूना बस्तीका महिलाका लागि गाउँपालिकाले सरसफाइका लागि शौचालय राख्ने बाल्टी, नङ्कट, रुमाल, दाँत माझ्ने ब्रस लगायतका आवश्यक सामग्री उपलब्ध गराएको उहाँले जनाउनुभयो ।
अधिकारकर्मी लक्ष्मीकन्या बुढाले कोइरेली अब नेपालकै पहिलो महिला हिंसामुक्त नमूना गाउँ बनेको दाबी गर्नुभयो । गाउँमा हुने सबैखाले उत्पीडनबाट यो बस्तीका ३५ घरधुरीका १३० महिलाले हिंसामुक्त गाउँको इतिहास स्थापित गरेको उहाँ बताउनुभयो । “यो कार्य अन्य क्षेत्रमा रहने महिलाका लागि पनि अनुकरणीय हुनेछ,” अधिकारकर्मी बुढाले भन्नुभयो ।
समानताको समाज निर्माण गर्ने मूल ध्येयले जुम्लाको कोइरेलीबाट थालिएको अभ्यास नेपालका सबै गाउँमा लागू हुनुपर्नेमा उहाँको जोड थियो । मनोविमर्शकर्ता नन्दराज आचार्यले महिला शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुन सके मात्र यो कार्यक्रमले औचित्यता पाउने बताउनुभयो । आजको मानव समुदायका लागि मनोविमर्शको पनि त्यत्तिकै आवश्यकता रहेको उहाँको भनाइ थियो ।
घोषणा कार्यक्रमका अध्यक्ष बास्मती रोकायाले दुर्गम गाउँका पुरुषले सुगमको जस्तो सोच गरिदिएकाले हिंसामुक्त गाउँ बनाउन सकिएको बताउनुभयो । १३० महिला र १४४ पुरुष गरी २७४ जनसंख्या रहेको उक्त बस्तीले रारा पर्यटन महोत्सवमा आउने प्रदेश सरकारका प्रमुखसहितको टोलीलाई स्वागत गर्ने योजना बनाएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?