बीमांक योगदानभन्दा बढी उपचार खर्च


चितवन, १३ चैत (रासस) ः चितवन जिल्लामा बीमांक योगदान रकमभन्दा बढी सेवा प्रदायकले उपचार खर्च लिएका छन् । स्वास्थ्य बीमा बोर्डका ३ नम्बर प्रदेशका संयोजक कृष्णप्रसाद भट्टराईका अनुसार जिल्लामा बीमा योगदान रकम रु छ करोड ४७ लाख ३० हजार ६७० संकलन भएको छ भने सेवा प्रदायकलाई रु आठ करोड दुई लाख ४९ हजार २६५ भुक्तानी भएको छ ।
देशभरका ३१ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भइरहेको छ । भट्टराईका अनुसार सबैभन्दा बढी बीमा भएको जिल्ला र बीमा योगदान रकमभन्दा बढी प्रदायकलाई भुक्तानी भएको जिल्ला पनि चितवन हो । हाँका अनुसार चितवनमा एक लाख नौ हजार ३०६ जनाले बीमा गरेका छन् जसमध्ये ५७ हजार ४५० जनाले सेवा लिइसकेका छन् ।
विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या पाँच लाख ९२ हजार ६०१ रहेको छ । कूल जनसंख्याको १८ दशमलव ४४ प्रतिशत जनताले बीमा गरेको उहाँले बताउनुभयो ।
भट्टराईका अनुसार बीमा लागू भएका ३१ वटा जिल्लामा पाँच लाख ८६ हजार ८२७ जनाले बीमा गरेका छन् जसमध्ये एक लाख १४ हजार ९०७ जनाले सेवा लिएका छन् । कूल बीमा योगदान रकम रु ३२ करोड १९ लाख दुई हजार ५०० संकलन भएको उहाँले बताउनुभयो । सेवा भुक्तानीबापत रु १५ करोड ५० लाख भुक्तान भएको छ ।
सचेत नागरिक भएकै कारण चितवनमा बीमाप्रतिको आकर्षण बढेको अनुमान छ । जिल्लाका १२ वटा अस्पतालले सेवा दिइरहेका छन् जसमध्ये सबैभन्दा बढी चितवन मेडिकल कलेजले ३५ हजार १८ जनालाई बीमा दाबी उपचार गरेको जनाएको छ ।  ती अस्पतालमध्ये गुञ्जमानसिंह अस्पतालबाट भने अहिलेसम्म कसैले पनि बीमा दाबी गरेर उपचार गरेका छैनन् । जिल्लामा असार १ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?