सेतो मच्छेन्द्रनाथको रथ हनुमानढोकामा


काठमाडौँ: सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा आज बेलुकी असनबाट हनुमानढोकास्थित कालभैरव पु¥याइएको छ । चैत्र शुक्ल अष्टमीका दिन आइतबार तीनधारा पाठशालाबाट शुरु भएको सेतो मच्छेन्द्रनाथको रथ यात्रा पहिलो दिन असनसम्म तानिएको थियो । असनमा आइतबारदेखि नै स्थानीयवासीले पूजा आजा एवं दर्शन गरी आज कालभैरव ल्याइएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख वैकुण्ठ रेग्मीले राससलाई जानकारी दिनुभयो । रथलाई मंगलबार कालभैरवबाट लगनटोलसम्म पु¥याइन्छ । चौँथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहाल ल्याइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिन्छ । मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ । मल्लकालीन राजा प्रताप मल्लको पालादेखि सेतो मच्छेन्द्रनाथको रथ जात्रा शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?