शेयर दलाल कम्पनी खुलेपछि कारोबार सहज


चितवन: गीतानगरका ध्रुवराज पोखरेल कुनै बेला बिहान काठमाडौँ गएर शेयर कारोबार गरेर साँझ घर फर्कनु हुन्थ्यो । उहाँले स्मरण गर्नुभयो “दलाल कम्पनी थिएनन्, बाहिर उभिएर हामी कारोबार गथ्यौँ । बिहान चार/पाँच बजेतिर माइक्रो बस चढ्यो भने ११ बजे काठमाडौँ पुगिन्थ्यो । मध्याह्न १२ बजेदेखि तीन बजेसम्म शेयर कारोबार हुन्थ्यो । त्यसपछि गाडी चढेर घर आइन्थ्यो ।”
अहिले पोखरेलको घरबाट आठ किलोमिटरको दूरीमा रहेको नारायणगढ बजारमा तीनवटा दलाल कम्पनी छन् । विसं २०६७ मा पहिलो दलाल नं २९ ले नारायणगढमा शाखा खोल्यो । त्रिशूल सेक्युरिटिजले शाखा खोलेसँगै नारायणगढमा नै कारोबार शुरु हुन थाल्यो । त्यसको छ वर्षपछि दलाल नं ४२ को शनि सेक्युरिटिजले नारायणगढमा अर्काे शाखा खोल्यो ।
छ महिना अघि दलाल नं ५१ को अक्सफोर्ड सेक्युरिटीजले यहाँ शाखा खोल्यो । यससँगसँगै शेयरको कारोबार गर्नेको संख्या बढेर गएको छ । घरका गृहिणीदेखि बिरामी जाँच्ने डाक्टरसम्म प्रत्यक्ष र अप्रत्यक्षरुपमा शेयर कारोबारमा संलग्न छन् । अवकाश प्राप्त शिक्षक र कर्मचारीको संख्या बढी छ भने अन्य सबै पेशाका व्यक्ति शेयर कारोबारमा संलग्न छन् ।
त्रिशूल सेक्युरिटीजका शाखा प्रबन्धक कौशल श्रेष्ठ दैनिक २०० जनाको हाराहारीमा कारोबार गर्न आउने बताउनुहुन्छ । सरदर कारोबार रु ४५ लाख हाराहारी भएको भन्दै उहाँले छिमेकी जिल्लाबाट पनि कारोबार गर्न आउने गरेका बताउनुभयो । बुटवल र भैरहवाबाट आउने उतै कारोबार गर्न थाले पनि नवलपरासी र हेटौँडाबाट समेत कारोबार गर्न आउने गरेका उहाँले बताउनुभयो ।
शनि सेक्युरिटीजका शाखा प्रबन्धक उज्वलराज पौडेलका अनुसार ५०÷६० जना दैनिक कारोबारमा आउने गर्दछन् । नजिकमा सेवा पाउँदा उनीहरु खुशी भएको भन्दै उहाँले बजारमा शेयर कारोबार उच्च हुँदा व्यापार पर्याप्त हुने गरेको बताउनुभयो । नजिक कारोबार गर्न पाउने भएपछि नयाँ कारोबारी थपिएको पौडेलको भनाइ छ ।
उहाँले भन्नुभयो “अहिले गृहिणी पनि शेयर कारोबारमा लागेका छन् ।”
अक्सफोर्ड सेक्टुरिटीजका शाखा प्रबन्धक विकास तिवारीले २० जनाको हाराहारी नियमित कारोबार गर्न आउने गरेका बताउनुभयो । उहाँले जिल्लामा कार्यालय खुलेपछि पुराना व्यवसायी र नयाँ कारोबार गर्न चाहनेलाई सहज भएको बताउनुभयो ।
भरतपुर महानगरपालिका–५ विकास चोकका शिव पौडेलले चार वर्षयता निरन्तर रुपमा नारायागढमा शेयर कारोबार गरिरहनुभएको छ । विसं २०६४ बाट आफूले कारोबार शुरु गरेका पौडेलले आफू ६ वर्ष दुबईमा रहँदा विभिन्न माध्यमबाट कारोबार गरेको बताउनुभयो । उहाँले लामो समयका लागि शेयर राख्ने र छोटो समयमा किनबेच गर्दै आएको बताउनुभयो । सो कारोबारका कारण जीवनयापन सहज भएको उहाँको भनाइ छ । रु चार करोडदेखि रु पाँच करोडसम्म शेयर राखेर बस्नेको संख्या चितवनमा ठूलै छ ।
बजार घटबढ भइरहने भन्दै उहाँले तर अहिले शेयर घट्दै गर्दा जुनसुकै गतिविधि हुँदा पनि यसको प्रभाव शेयरमै गएर ठोक्किएको बताउनुभयो । पौडेलले भन्नुभयो “शेयर जसरी ओरालो लागेको छ, त्यसैगरी माथि उठ्छ, सबैले सरकारले बोल्दियोस् भनिरहेका छन् ।” आफूले बिबिएस पढ्दा पाठ्यक्रममा शेयरको बारेमा पढेपछि यसतर्फ आकर्षित भएको भन्दै स्थानीय बजारमा कारोबार गर्न पाएपछि सहज भएको बताउनुभयो ।
भरतपुरका दीपक दाहालले पनि चार वर्षदेखि शेयर कारोबार गरिरहनुभएको छ । त्यस अघि अष्ट्रेलियामा रहँदा पनि शेयर कारोबार गरेको उहाँले बताउनुभयो । अरु कामभन्दा तनावरहित काम शेयर भएको उहाँले बताउनुभयो । शेयरबाट स्वच्छ प्रतिफल आउने दाहाल बताउनुहुन्छ । उहाँले भन्नुभयो “समय र बजार चिन्यो भने राम्रो कारोबार गर्न सकिन्छ ।”
मार्जिन ल्याण्डङ र अनलाइन कारोबार भए अझै सहज हुने भन्दै उहाँले यही कारोबार नभएको भए आफूले काठमाडौँ गएर पनि कारबार गर्न सक्ने बताउनुभयो । अहिले यही कारोबार भएपछि घरको खाना खाएर शेयर कारोबार गर्न पाएको दाहालको भनाइ छ ।
बजार घट्ने बढ्नेलाई ठूलो रुपमा लिन नहुने भन्दै उहाँले यो नियमित प्रक्रिया भएको बताउनुभयो । दाहालले भन्नुभयो “शेयरबाट नराम्रो हुन्छ भन्ने छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?