हारबाट मुस्किलले जोगियो बार्सिलोना, मेस्सीले अन्तिम समयमा गोल गरे


काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो । २-० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक-एक गोल फर्काएका थिए । सेभिल्लाले ३६ औं मिनेटमा भाज्क्वेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसको १४ मिनेटपछि मुरिएलले अर्को गोल गरेपछि सेभिल्लाले २-० को अग्रता लियो । बार्सिलोनाका लागि ८८ औं मिनेटमा स्वारेजले एक गोल गरे । त्यसको एक मिनेटपछि स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्को एक गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । चोटका कारण अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेल नखेलेका मेस्सी शनिबार सेभिल्लाविरुद्ध थप खेलाडीको रुपमा मैदान छिरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?