शान्तिका लागि पोपको आग्रह


भ्याटिकन सिटी: क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि सबैसँग आह्वान गर्नुभएको समाचारमा जनाइएको छ ।
पोप फ्रान्सिस्ले इष्टर पर्वको अवसरमा दिनुभएको सन्देशमा सिरियामा नरसंहार रोक्न र अरु मध्यपूर्वी देशहरुमा पनि शान्ति स्थापनाका लागि ईश्वरसँग प्रार्थना गर्नुभएको छ । उहाँले कोरियाली प्रायद्वीपमा पनि शान्ति स्थापनाका लागि सबैको प्रयासको अपेक्षा गरिएको बताउनुभयो । उहाँले सन्देशमा उक्त क्षेत्रमा पनि शान्तिवार्ताकै माध्यमबाट सबै काम गर्न सकिने कुरा मानवीय रुपमा मनन् गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले आप्रवासी तथा शरणार्थीहरूको समस्यालाई मानवीय रुपमा सोच्न पनि सो सन्देशमार्फत आग्रह गर्नुभएको छ । कुनै पनि देशमा जारी द्वन्द्वहरुमा मानवीयताका पक्षलाई ध्यान दिन उहाँको आग्रह थियो । उहाँले बङ्गलादेशमा रहेका रोहिङ्ग्या तथा आन्तरिक द्वन्द्वको चपेटामा परेका विश्वका अरु पनि देशका आन्तरिक तथा वाह्य शरणार्थीहरुको समस्याहरुको मनन् गर्न सम्बद्ध देश र सरकारहरुलाई आग्रह गर्नुभयो । पोप फ्रान्सिसको सन्देश सुन्न आइतबार साँझ भ्याटिकन सिटीमा रहेको सेन्ट् पिटर्स् स्क्वाएरमा यस धार्मिक समुदायका हजारौँ मानिस भेला भएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?