सन्दर्भ: राष्ट्रिय सहकारी दिवस, जहाँबाट सहकारीको प्रादुर्भाव भयो 


नारायण अधिकारी 
चितवन:औलोको प्रकोपका कारण चितवनमा बस्न त्यतिबेला धेरै कठिन थियो । पहाडबाट झर्नेहरूका लागि के खाने र के गर्ने भन्ने अन्र्याैल थियो । त्यही अन्यौल चिर्न यहाँका सचेत व्यक्तिले सहकारी स्थापना गरे । जसले पहाडबाट यहाँ आउनेलाई खुवाउनका लागि धर्म भकारीदेखि ढड्डी फाँडेर खेती किसान गर्न सहयोग गथ्र्याे । त्यो थियो ‘बखान सहकारी’ ।
विसं २०१३ चैत २० गते आजकै दिन यो सहकारी दर्ता भएको थियो । त्यतिबेलाका संस्थापकको भनाइमा नेपाल सरकारका रजिष्ट्रार कृष्ण बम मल्लले यो सहकारी दर्ता गर्नुभयो । जसको दर्ता नं १ रह्यो । योसँगै नेपालमा अन्य सहकारीको पनि प्रादुर्भाव भयो । अहिले यसको संख्या ३६ हजार नाघेको सहकारीकर्मीको अनुमान छ ।
भरतपुर महानगरपालिका– १९ को शारदानगरमा सुवेदार खड्कबहादुर गुरुङको नेतृत्वमा सहकारी स्थापना भएको थियोे । जीवित संस्थापकमध्येका इन्द्रसिंह गुरुङले भन्नुभयो, “यो क्षेत्रको बसाइँ शुरु गर्ने बखानसिंह गुरुङको नामबाट सहकारीको नामाकरण गरियो ।” शुरुमा ६० जना संस्थापक मिलेर सहकारी स्थापना गरेको उहाँले जानकारी दिनुभयो ।
सहकार्य गरेर काम गर्न सकिन्छ भनेर बखानसिंह गुरूङसहित ६० जनाबाट प्रतिव्यक्ति रु १० र मसकद (हालको मसलन्द) खर्च भनेर एक रुपैयाँ थप गरी ११ रुपैयाँप्रति महिना उठाउन थालियो । शुरुमा छ सय रुपैयाँ कूल पूँजीबाट सो स्थापना गरिएको हो । बखानसिंहले नै सहकारीको अवधारणा ल्याएकाले सहकारीको नाम नै बखान सहकारी संस्था राखियो । शुरुमा बखान सहकारी संस्था त्यसपछि शारदानगर साझा संस्था हुँदै पुनः बखान सहकारी सस्था भएर हाल बखान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका नाममा सञ्चालित छ ।
शुरुवाती कार्यसमितिका इन्द्रसिंहसहित, हर्कबहादुर गुरुङ र कृष्णमान गुरुङमात्रै अहिले जीवित हुनुहुन्छ । इन्द्रसिंहको भनाइमा २०११ साल साउन ११ गते गण्डकक्षेत्र अर्थात् अहिलेको तनहूँ, गोरखा र नवलपुर क्षेत्रमा बाढी पहिरोले धेरैको बिल्लीबाठ गराएकाले त्यहाँबाट बसाइँ सरेर आएकाको सहयोगका लागि सहकारी स्थापना गरिएको थियो ।
उहाँले स्मरण सुनाउनुभयो, “त्यतिबेला राप्ती ‘दुन’ परियोजनाले एक हल गोरु पाल्नेलाई एक प्लट, दुई हल पाल्नेलाई दुई प्लट जग्गा दिन्थ्यो । एक प्लटमा पाँच बिगाहा हुन्थ्यो ।”
त्यसैगरी राप्ती दुनले नै ढड्डी फाँड्दिन्थ्यो र जीविकोपार्जनका लागि मोरु ३०० रुपैयाँ पनि ती परिवारलाई दिन्थ्यो । बखान सहकारीले हलो, कुटो, कोदालो, बीउ, जुटाएर सहयोग गथ्र्याे । बाहिरबाट आउनेलाई तत्काल खानलाई धर्मभकारी अर्थात् खाद्यान्न जम्मा गरेर आफै उत्पादन नगरेसम्म बचाउने काम पनि गरेको इन्द्रसिंहले बताउनुभयो ।
चितवन जिल्लाको शारदानगरमा स्थापना भएको बखान बहुउद्देश्यीय सहकारी संस्था नेपालका सहकारीका अभिभावक सहकारी हो । बखानसिंह गुरूङको पहलमा स्थापना भएको बखान सहकारी संस्थाको स्थापना दिवसलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउँदै आइएको छ । आज ६१ औं राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यो सहकारीमा अहिले ३६२ जना शेयर सदस्य छन् । बीचमा केही समय शेयर सदस्य कम रहे पनि अहिले बढ्ने क्रममा रहेको अध्यक्ष मोहनसिंह लामाले जानकारी दिनुभयो । बखानलाई सहकारी अध्ययन केन्द्र पाठशालाको रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । यो सहकारीको अवलोकन भ्रमण गर्न हालसम्म ७३ जिल्लाका सहकारी समूहका प्रतिनिधि आइसकेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
भ्रमणमा आउने प्रत्येक समूहसँग एक हजार पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ । संस्थामा पाँचजना कर्मचारी छन् । प्रतिशेयर मूल्य एक सय छ । एकाउन्न कित्तासम्म अधिकत्तम शेयर दिने गरिएको लामाले बताउनुभयो, “संस्थाको २७ लाख ७५ हजार ७१० शेयर पुँजी छ । बचततर्फ गत महिनासम्म ५७ लाख ७८ हजार ७०० पुगेको छ ।” अध्यक्ष लामाका अनुसार बीचको समयमा २०४६ सालसम्म सहकारी सुसुुप्त रह्यो । कर्मचारीका बेइमानीका कारण सहकारी ऋणको दलदलमा फस्यो ।
उहाँले भन्नुभयो, “ विसं२०४६ मा आउदा लगानी गर्न अन्यत्रबाट ल्याएको रु ३८ लाख ऋण सहकारीमा थियो । त्यसपछि सहकारी सुधारको बाटोतर्फ गयो । २०६० साल माघ ३० गते हामी ऋणमुक्त भयौं ।”
अहिले सहकारीले कृषि क्षेत्रमा पनि लगानी गरिरहेको छ । लगानी ६८ लाख ६९ हजार छ । बाह्र प्रतिशत ब्याजमा कृषि उत्पादनका लागि मात्रैं अधिकत्तम दुई लाखसम्म लगानी गरिएको अध्यक्ष लामाले बताउनुभयो । कृषि उत्पादनका लागि बाहेक अन्य प्रयोजनका लागि ऋण लगानी गरिएको छैन । संस्था आफैंले दुईवटा उपकरण राखेर तोरी मिल सञ्चालन गरेको छ । कृषि क्षेत्रमा बीउका कार्यक्रम पनि सञ्चालनमा छन् । दश कठ्ठा जमिनभित्र संस्थाको भवन छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?