बोको हरामको आक्रमणमा बीस मारिए


कानो, नाइजेरिया: नाइजेरियाको उत्तरी शहर मैदुगरीमा रहेको एक सैन्य शिविरमा बोको हराम आतंककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका छन् । नाइजेरियाका सरकारी सुरक्षा अधिकारीहरुले सोमबार नै सो जानकारी दिएको समाचारमा जनाइएको छ ।
शहरको प्रवेशद्वारमा अवस्थित प्लानतासन क्षेत्रमा रहेको सो सैन्य शिविरमा मोर्टास्, बन्दुक र आत्मघाती बमद्वारा बोको हराम आतंककारी समूहले आक्रमण गरेका मैदुगरीका वरिष्ठ सैन्य आधिकारीले जानकारी दिनुभएको छ ।
स्थानीय समयानुसार सोमबार राति ८ः५० मा सात जना आत्मघाती आक्रमणकारीसहित १८ जना बोको हराम आतंककारी हिँडेरै आएका र अत्याधुनिक हतियारले आक्रमण शुरु गरेका बताइएको छ ।
यस आक्रमणमा परी मारिनेमा सेना नै बढी परेका बताइएको छ । तर यस विषयमा विस्तृत समाचार भने आएको छैन ।
शुरुमा १८ व्यक्तिको मृत्यु भएको भनिए पनि सो संख्या पछि २० पुगेको यहाँको संकटकालीन व्यवस्थापन निकायले एएएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
यस आक्रमणमा परी करीब ८२ जना घाइते भएका छन् । तर घाइतेमध्ये कैयाँैको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने पनि प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् । बोर्नाे र मैदुगरी राज्यमा बोको हरामको ठूलो बाहुल्यता रहेको बताइन्छ । सोही राज्यबाट नै उनीहरुले आफ्नो संगठन शुरु गरेका पनि बताइएको छ । सोही कारण पनि उनीहरुले उक्त राज्यमा धेरै हिंसात्मक गतिविधिहरु गर्ने गरेका छन् । यहाँको बोको हरामले गरेको आक्रमणका कारण अहिलेसम्ममा कम्तीमा पनि नाइजेरियामा नै २० हजार नागरिकको ज्यान गइसकेको छ । नाइजेरियामा बोको हरामले ठूलो हिंसा मच्चाइरहेका छन् । उनीहरुलाई यहाँको राज्यले नै आतंककारी समूहमा राखेको छ । उनीहरुको हिंसाका कारण त्यहाँका लाखौँलाख मानिस विस्थापित भएका छन् । हिंसा अझै रोकिएको छैन । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?