समझदारीपत्रमा हस्ताक्षर


काठमाडौँ: नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीबीच दुई पक्षीय समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरकोतर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र भियतनाम चेम्बरकोतर्फबाट अध्यक्ष डा भू टिइन लकले हस्ताक्षर गर्नुभएको छ । चेम्बरका अनुसार बुधबारदेखि आगामी वैशाख १ गतेसम्म हुने चारदिने २८औ भियतनाम इन्टरनेशनल ट्रेड फेयरमा चेम्बरको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछ । सो फेयरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।
नेपाल र भियतनाम दुई देशबीचको आर्थिक तथा व्यापारिक अभिवृद्धिका लागि सूचनाको आदानप्रदान गर्ने, दुई देशका प्रतिनिधिमण्डलबीच अनुभव आदानप्रदानका लागि भ्रमण गर्नेलगायतका बुँदा समेटिएको चेम्बरले जनाएको छ । यस्तै वैदेशिक व्यापार तथा लगानी अभिवृद्धिका लागि नीतिनियम सूचना आदानप्रदान गर्ने, व्यापार तथा प्रविधि मेलामा सहभागिता जनाउनेलगायतका बुँदा उल्लेख गरिएको चेम्बरका प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजियमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?