फ्लोरा एक्स्पोमा दुई दिनमै ३५ लाखको कारोवार


काठमाडौं: पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साँथ आयोजना गरिएको २१औं फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा वढिको कारोवार भएको छ । एक्स्पोमा करिव ३५ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा चैत ३० देखि सञ्चालन भईरहेको एक्स्पोमा नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्य रहेको छ । मेलामा १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीका स्टल, ४ वटा ल्याण्ड स्केपिङ्गका स्टल, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल गरि जम्मा ८२ वटा स्टल रहका छन । त्यसैगरि, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेको मेला संयोजक तथा एसोसिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले जानकारि दिए ।
एसोसिएसनका अनुसार नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रित नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको छ । गत आब २०७३÷७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ भने करिव ४३ हजार भन्दा बढिले यस क्षेत्रवाट रोजगारी पाएका छन । गत वर्षमा मात्र १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएपनि आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?