सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक


वासिङटन: अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर संकलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाँै प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर संकलन गरेका हुन् । अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले सिरियामा शनिबार बिहानै आक्रमण सुरु गरेको २४ घण्टा पनि नवित्दै उनीहरुले हस्ताक्षर संकलन सुरु गरेको समाचारमा जनाइएको छ ।
प्रदर्शनकारीहरुले पहेँलो व्यानर सहित “सिरियालाई मुक्त गर”, “सिरियामा अमेरिकाको युद्ध हुदैन” “सिरियामाथिको बम आक्रमणले मानवलाई फाइदा गर्दैन, यस्ले उनीहरुलाई मार्छ,” जस्ता नारा लगाउदै प्रदर्शन गरेका थिए । उनीहरुले युद्धतर्फको बाटो छोडेर शान्तिको मार्ग रोज्न पनि आह्वान गरेका थिए । उनीहरुले विभिन्न सहरहरुमा शृंखलाबद्ध रुपले प्रदर्शन गरेका छन् । सिरियाले रासायनिक अस्त्र निर्माण गर्ने गरेको भनिएका क्षेत्रहरूमा अमेरिका, बेलायत र फ्रान्सले शनिबार क्षेप्यास्त्र हमला गरेका हुन् । यो हमला अहिलेको लागि पूरा भएको अमेरिकाले बताएको छ । अमेरिकाले सिरियाले पछिल्ला केही समययता रासायनिक हतियारहरुको निर्माण गरी त्यसबाट आक्रमण गर्ने गरेको जनाएको छ ।
यसबाट हजारौँ नागरिक मारिएको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको थियो ।

सुरक्षा परिषदको आकस्मिक बैठक 
यसैबीच सो आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आकस्मिक बैठक शनिबार बसेको छ । सो बैठकमा उपस्थित संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले सिरियाका बारेमा गम्भीर भएर सोच्न आग्रह गर्नुभएको थियो । उहाँले सिरियाको वर्तमान अवस्था अत्यन्तै नाजुक रहेकोले यसको समाधान सोही अथवा गम्भीर रुपमा नै सोच्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिरियाले रासायनिक हतियारहरुले आक्रमण गरेर नागरिक हत्या गर्नु ठूलो भूल हो भन्दै तर त्यसका विरुद्धमा हतियारकै कारबाही पनि राष्ट्रसंघले सोचेको विकल्प होइन भन्नुभयो ।

रुसको कडा विरोध 
सो बैठकमा रुसले भने उक्त आक्रमणको विरोध गरेको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले सो आक्रमणको विरोध गर्नुभएको हो । उहाँले सिरियामा बिना सूचना र तीन वटा देशको सेनाले एकै पटक हवाई हमला गरेर अन्तर्राष्ट्रिय कानुनको अपव्याख्या र उल्लंघन गरेको आरोप लगाउनुभएको थियो । यसको प्रतिउत्तरमा अमेरिकी विशेष दूतले भने सिरियाली सरकारले यस्ता घातक आक्रमणहरु गर्दा पनि रुसले विरोधको सट्टा उल्टै सघाएको आरोप लगाउनुभएको समाचारमा जनाइएको छ ।

सिरियाद्वारा निन्दा 
यसैबीच उक्त हमलाको सिरियाले निन्दा गरेको अर्काे एक समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघका लागि सिरियाली राजदूत बसर जा अफारीले अमेरिकी नेतृत्वको सो हमलाको निन्दा गर्नुभएको हो । राजदूत अफारीले भन्नुभयो– अमेरिकी नेतृत्वका ती देशले गरेको सो हमला अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानुन विपरीत भएको भन्दै उहाँले पहिलेको दोस्रो विश्वयुद्धपछिको शीतयुद्धकालीन अवस्था पुनः फर्किएको धारणा पनि राख्नुभयो । उहाँले यस्तो हमलाले सिरियामाथि ठूलो अन्याय भएको भन्दै तुरुन्त यस्ता सिरियामाथि धावा बोल्ने कार्य रोक्न लगाउन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको पनि समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?