वरिष्ठ अमेरिकी अधिवक्ताद्वारा विरोधस्वरूप आत्मदाह


वासिङटन, संयुक्त राज्य अमेरिका: वरिष्ठ अमेरिकी अधिवक्ता तथा समलिङ्गीहरूको अधिकारका लागि बहस गर्दै आउनुभएका ड्याभिड बकेलले न्यूयोर्कको एक पार्कमा पृथ्वीको विनासमा मानवजाती भूमिकाप्रति विरोध जनाउँदै आत्मदाह गर्नुभएको छ । साठी वर्षीय बकेलले स्थानीय समयअनुसार शनिवार विहानै ब्रुकलिनको प्रोस्पेक्ट पार्कमा आत्मदाह गरेपछि उहाँलाई तत्कालै मृत घोषणा गरिएको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले जनाएको छ ।
आत्महत्यापूर्व विभिन्न अमेरिकी पत्रिकालाई गरिएको इमेलमा उहाँले पृथ्वीमा जे भइरहेको छ त्यसैको सङ्केतस्वरूप जैविक इन्धनको प्रयोग गरी आत्मदाह गरेको बताउनुभएको छ । “वायु, माटो, पानी तथा मौसममा भएको प्रदुषणले हाम्रो धर्तीलाई विनास गरेको छ र पृथ्वीलाई बस्न अयोग्य बनाइरहेको छ,” आत्महत्यापूर्व लेखिएको इमेलमा उहाँले लेख्नुभएको छ ।
“धेरैजसो मानवजातीले जैविक इन्धनको प्रदुषणका कारण अस्वस्थ भएको स्वास फेरिरहनुभएको छ । नतिजास्वरूप अल्पायुमै मर्नुपरेको छ । मेरो जैविक इन्धनको प्रयोगबाट अल्पायुमै भएको मृत्युले हामीले के गरिरहेका छौँ भन्ने कुराको वोध गराउने छ ।”
बकेलले लामोसमयदेखि अदालतमा समलिङ्गी समूहको अधिकारका लागि सङ्घर्ष गर्दै आउनुभएको थियो साथै समलिङ्गीहरूको संगठन ‘लाम्डा लेगल’का वैवाहिक योजनाका निर्देशक पनि हुनुहुन्थ्यो । “ड्याभिडको मृत्युको खबर ह्रदय विदारक भएको छ । यो लाम्डा लेगल सदस्य तथा सामाजिक न्यायको सम्पूर्ण आन्दोलनका लागि अपुरणनीय क्षति भएको छ,” लम्डाका कानूनी विभागका निर्देशक कमिला टेलरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
टेलरले भन्नुभयो, “ड्याभिड एक उज्ज्वल कानूनी परामर्शदाता हुनुहुन्थ्यो । उहाँले समलिङ्गी युवाहरूको अधिकारका लागि बनेको लाम्डा लेगलको स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नुभएको थियो । ” “लाम्डा लेगलमा निस्क्रिय बनेपछि बकेलले वातावरणीय प्रदुषणका बारेमा काम गर्दै आउनुभएको थियो ।” ड्याभिडको मृत्युले वातावरण प्रदुषण रोक्न आगामी दिनमा गर्नुपर्ने कामकोलागि विश्वलाई झकझकाउनेछ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?