नेविसंघलाई बलियो बनाइ अघि बढ्नुस्: सभापति देउवा


काठमाडौँ: नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले संगठन बलियो बनाई अघि बढ्न नेपाल विद्यार्थी संघलाई निर्देशन दिनुभएको छ ।
नेविसंघ केन्द्रीय समितिद्वारा ४९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा सभापति देउवाले अहिले मेहनत गरे भोलिको भविष्य सुन्दर हुने भन्दै नेविसंघलाई विद्यार्थीको प्रतिनिधि संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमाथि खतरा आउन शुरु भइसकेको छ, मुलुकमा समस्या देखिन थालेको छ, यसको प्रतिकारको जिम्मा नेविसंघको काँधमा छ ।”

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले नेविसंंघमा लागेपछि विद्यार्थीको पहिलो कर्तव्य पठनपाठन नै भएको भन्दै त्यसपछि मात्र आफ्नो पार्टी आस्था र आदर्श हुनुुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपालको जनसंख्याको ६० प्रतिशत ४० वर्षमुनिका जनता आगामी निर्वाचनमा मतदाता हुने भएकाले नेविसंघले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै उहाँले आफू गुट÷उपगुटको विरोधी भएकाले नेविसंघले पनि यस्तो प्रथाको अन्त्य गरी काँगे्रसलाई हाँक्न दबाब दिनुपर्नेमा जोड दिनुभयो । काँगेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले विधिविधानलाई अवलम्बन गरी अघि बढ्न नेविसंघलाई आग्रह गर्दै देशको अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने बताउनुभयो ।

काँगे्रसले निर्वाचनका समयमा भन्दै आएको अधिनायकवादको खतरा अहिले देखिन थालेको छ, उहाँले भन्नुभयो, “सबै अभिशिष्ट अधिकार प्रधानमन्त्री कार्यालयमा सार्न थालिएको छ, न्यायालय, महालेखालगायत सबै क्षेत्रमा हस्तक्षेप हुन थालेको छ, पे्रसमाथि पनि नियन्त्रण हुने दिन टाढा छैन ।” नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइरालाले काँगे्रसको सभापतिदेखि सबै तहमा नेविसंघद्वारा उत्पादित नेताहरु रहेको हुँदा पनि नेविसंघको दुर्दशा हुनु दुःखद् भएको बताउनुभयो । काँग्रेस नेता एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठ, डा प्रकाशरण महत, शंकर भण्डारी, एनपी साउदलगायतले निर्वाचनमा कमजोर देखिएको काँगे्रसलाई बलियो बनाउने जिम्मा नेविसंघको काँधमा आएको बताउनुभयो ।

पार्टीभित्रको गुटबन्दी खारेज नभएसम्म नेविसंघलगायतका अन्य भातृ संगठनमा पनि असर परिरहने भएकाले पार्टीलाई मजबुत बनाउनेमा सबैको ध्यान केन्द्रित हुनुपर्नेमा उहाँहरुले जोड दिनुभयो । नेविसंघका अध्यक्ष नैनसिंह महरले पार्टीका नेताहरुले नेविसंघलाई बेवास्ता गरेको गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?