लिबियाको जलसेनाले एघार जनाको शव निकाल्यो, २८३ जनाको उद्धार


ट्रिपोली: लिबियामा भएका डुङ्गा दुर्घटनामा परेका ११ व्यक्तिको शव निकाल्नुको साथै अन्य २८३ जनालाई त्यहाँको जलसेनाले जीवितै उद्धार गरेका छन् । देशको पश्चिमतिर पर्ने छट्टाछट्टै तटिय क्षेत्रहरुमा भएको दुर्घटनाबाट उनीहरुलाई उद्धार गरिएको सैन्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । “उद्धारमा खटिएको हाम्रो सैन्य टोलीले ११ जनाको शव निकालेको छ भने ८३ जनालाई जीवितै उद्धार गरेको छ, सब्रथा तटदेखि आठ किलोमिटर टाढा रबरको डुङ्गा दुर्घटना भएको थियो,” जल सेनाका प्रवक्ता अयोब क्वासेमले सिन्ह्वासँग भन्नुभयो ।
उद्धार गरिएका सबैजना अफ्रिकी मुलुकका आप्रवासी रहेको जनाइएको छ । घटनास्थल राजधानी ट्रिपोलीदेखि ४५ किलोमिटर टाढा पर्दछ भने घटना स्थानीय समयानुसार दिउँसो १ बजे भएको थियो । प्रवक्ता क्वासेमले उद्धारकर्ताहरुले अर्को ठाउँबाट अरु २०० जना आप्रवासीहरुलाई पनि उद्धार गरेको जानकारी दिनुभयो । ती उद्धार गरिएका मानिसमध्ये ३८ जना बालबालिका रहेका छन् । यो घटनास्थल भने राजधानी ट्रिपोलीदेखि १५० किलोमिटर टाढा पर्दछ ।
दोस्रो ठाउँबाट उद्धार गरिएका आप्रवासीहरु अफ्रिकन र एसियन मूलका रहेको उहाँले बताउनुभयो । सन् २०११ मा लिबियाका पूर्व नेता मोहम्मर गद्दाफीको पतनपछि युरोप जाने बाटोको रुपमा लिबियालाई आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् । सन् २०१८ को पहिलो चौमासिकमा मात्रै लिबियाका विभिन्न तटिय क्षेत्रबाट चार हजार भन्दा बढी आप्रवासीलाई उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?