भारतमा विषाक्त रक्सी सेवनबाट १२ जनाको मृत्यु


कानपुर, भारत : उत्तरी भारतको कानपुरमा विषाक्त रक्सी सेवनबाट कम्तीमा १२ जनाको मृत्यु् भएको छ । कानपुरको नगर र ग्रामीण क्षेत्रमा भएको यस घटनामा १२ व्यक्तिको मृत्यु भएको बताइएको छ । कानपुर नगरको सचेण्डीमा शनिबार छ जना र कानपुरकै रूरामा आइतबार थप छ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । यस घटनामा अन्य केही व्यक्ति बिरामी परेका तर बिरामीहरुको यकिन संख्यामा दिइएको छैन । बिरामी सवैको स्थानीय अस्पतालमा उपचार भईरहेको बतइएको छ ।
बिरामीहरुमा केहीको अवस्था चिन्ताजनक भएकोले मृतकको संख्या बढ्नसक्ने समेत अस्पताल स्रोतले जानकारी दिएको छ । हालसम्म विषाक्त रक्सी बेचेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको र त्यसमध्ये विनय सिंह नामक एक व्यक्ति प्रमुख आरोपीको रुपमा रहेको पाइएको प्रहरीको भनाई छ । भारत सरकारले मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ दिने घोषणा गरेको छ भने बिरामीलाई उपचारको सहयोगको रुपमा ५० हजार भारतीय रूपैयाँ उपलब्ध गराइने बताएको छ । यस घटनाका बिरामीलाई भेट्न शनिबार कानपुरको हैलट अस्पताल पुग्नु भएका मुख्यमन्त्री दिनेश शर्माले यस अपराधीक कार्यमा दोषी पाइएकालाई कडा कारबाही गरिने बताउनु भएको छ ।
यस घटनाबारे विभिन्न स्तरमा अनुसन्धान भइरहेको प्रहरी अधिकारी अखिलेश कुमारले बताउनु भएको छ । रक्सी विक्रेता र स्थानीय प्रहरीबीच साठगाँठ रहेको हुनसक्ने आशङ्कामा अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनु भएको छ ।
ट्रक र बस ठोक्किदा ९ जनाको मृत्यु 
यसैबीच भारतको मध्यप्रदेशमा भएको सडक दुर्घटनाको एक घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अर्काे छ । मध्य प्रदेशको गुना जिल्लामा ट्रक र बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका प्रहरी स्रोतले सोमबार जानकारी दिएको छ । मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट दुई सय किलोमिटर टाढा यो घटना भएको थियो । एकजना चालक, उनका सहयोगीसहित ३२ जना यात्रु सवार एक बस गुजरात राज्यतर्फ गइरहेका बेला दुर्घटनामा परेको थियो । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?