चिल्ड्रेन गेम्स शुरु


काठमाडौँ: उपराष्ट्रपति नन्दबहादुर पुनले इण्डियन प्रिमियर लिग ( आइपिएल) मा शानदार प्रदर्शन गर्दै नेपालको शिर उँचो बनाएकामा क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिनुभएको छ । आजदेखि शुरु भएको प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उद्घाटन गर्दै सो प्रतियोगिता नेपाली खेलकुदको जगलाई बलियो बनाउने महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको मेरुदण्ड नै विद्यालय भएको हुँदा यस्ता प्रतियोगिताले निरन्तरता पाउने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले तल्लो तहबाटै प्रतिभावान् खेलाडीको पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
राखेपको आयोजनामा भएको केन्द्रीयस्तरको उक्त प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिष्पर्धा भइरहेको छ । छाछात्रातर्फ एथलेटिक्समा पाँच पाँच, कराते र तेक्वान्दोमा चार चार तथा उसुमा तीन तीन स्वर्णका लागि प्रतिष्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः रु तीन हजार, रु दुई हजार र रु एक हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा सात प्रदेशबाट ४६ का दरले ३२२ खेलाडी सहभागी छन् । एथलेटिक्स र तेक्वान्दो लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, तेक्वान्दो सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्ड हलमा भइरहेको छ ।

एथलेटिक्स: राहुल र रियालाई स्वर्ण 
एथलेटिक्सको १०० मिटर दौडको छात्रमा प्रदेश ४ का राहुल गुरुङ र छात्रामा प्रदेश ४ कै रिया थापाले स्वर्ण जिते । राहुलले निर्धारित दूरी ११.४४ सेकेन्डमा पूरा गरे । प्रदेश ३ का विमल बुढाथोकी दोस्रो तथा प्रदेश ५ का सुरेन्द्र विक तेस्रो भए । यता रियाले १३.७० सेकेन्डमा दूरी तय गरिन् । प्रदेश ६ की सेरुणा शेर्पाली दोस्रो तथा प्रदेश ५ की प्रशान्ती थारु तेस्रो भए ।
छात्र ट्रिपल जम्पमा प्रदेश ५ का कृष्ण घिमिरे पहिलो, प्रदेश ४ का नुतन श्रेष्ठ दोस्रो र प्रदेश ७ का सञ्जय चौधरी तेस्रो भए । सोही स्पर्धाको छात्रामा प्रदेश २ की अनुषा राउतले स्वर्ण, प्रदेश ७ की दुर्गा धामीले रजत र प्रदेश ३ की मनिका महतोले कांस्य जिते ।

तेक्वान्दो: सुदीप पहिलो 
तेक्वान्दोको छात्र ३३ केजीमा प्रदेश २ का सुदीप नेपाली पहिलो भए । उनले फाइनलमा प्रदेश ४ का रविकान्त कुर्मीलाई पराजित गरे । सैँतीस केजी फाइनलमा प्रदेश ४ का महावीर पासी प्रदेश ५ का रवीन रोकायालाई हराउँदै पहिलो भए ।
छात्रा २९ केजीमा प्रदेश ३ की करुणा श्रेष्ठले स्वर्ण जितिन् । फाइनलमा करुणाले प्रदेश ७ की गंगा खड्कालाई पाखा लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?