चौधौँ कोरियाली चलचित्र महोत्सव शुरु


काठमाडौँ: कोरियाली कला तथा संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि ललितपुरमा प्रारम्भ भएको कोरियाली सप्ताहअन्तर्गत चौधौँ कोरियाली चलचित्र महोत्सव शुरु भएको छ । दक्षिण कोरियाका पाँचवटा उत्कृष्ट चलचित्रको प्रदर्शनी आजदेखि शुरु भएको हो । यहाँस्थित दक्षिण कोरियाली राजदूतावासले आयोजना गरेको उक्त महोत्सवको पुल्चोकस्थित लबिम मलको प्रेक्षालयमा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले पाँँँच किसिमका व्यावसायिक चलचित्र प्रदर्शनीमा समावेश गरिएका जानकारी दिँदै त्यसबाट कोरियाली कला संस्कृतिबारे बुझ्न नेपालीलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कोरियाली संस्कृति प्रवद्र्धन गर्न तथा कोरिया र नेपाल सम्बन्ध सदृढ तुल्याउन बल पुग्ने आशा पनि उहाँले प्रकट गर्नुभयो । आगामी पाँचदिनसम्म जारी रहने उक्त प्रदर्शनीमा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कोरिया सप्ताहअन्तर्गत शुक्रबार कोरियाली संस्कृति झल्कने पोशाक प्रदर्शनी तथा खाना महोत्सव आयोजना गरिएको थियो भने कोरियाली भाषा जान्ने नेपालीबीच वक्तृत्वकला प्रतियोगिता पनि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?