भक्तपुरका व्यवसायी भन्छन्–‘बजेट युवामुखि’


भक्तपुर: भक्तपुरका उद्योगी तथा व्यवसायीले सरकारले आव २०७५÷७६ का लागि प्रस्तुत गरेको बजेट युवामुखी र आशालाग्दो भएको बताएका छन् । उद्योग वाणिज्य महासंघका पूर्वद्धितीय उपाध्यक्ष एवं व्यवसायी केपी ताम्राकारले सरकारले बजेट युवालाई विदेश पलायन हुनबाट रोक्ने किसिमको भएको बताउनुभयो । कार्यक्रमलाई सरकारले कार्यान्वयनमा ल्याउन सके युवा विदेशिनबाट रोकिने र विदेशीएकाहरु पनि फर्केर देशमै व्यवसाय सञ्चालन गर्नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो–“सरकारले युवालाई स्वदेशमै व्यवसाय गर्नसक्ने अवस्थाको सिर्जना गरेको छ, बजेट कार्यान्वयन भए, उद्योग, व्यवसायमा राम्रै फड्को मार्छ ।”
विदेशबाट फर्कने नेपालीलाई व्यवसाय सञ्चालनका लागि रु १० लाखसम्म ऋण उपलब्ध गराउने गरी सरकारले ल्याएको बजेटले युवा उत्साहीत भएको ताम्राकारले बताउनुभयो ।
त्यसैगरि शैक्षिक प्रमाणपत्रको आधारमा रु सात लाखसम्म अनुदानमा ऋण उपलब्ध गराउने सरकारको बजेट कार्यक्रमले जिल्ला जिल्लामा युवालाई उद्यमी बनाउनसक्ने उहाँ बताउनुहुन्छ ।
ताम्राकारले भन्नुभयो–“शैक्षिक प्रमाणपत्रका आधारमा ऋण पाउने युवाले ऋणलाई सामूहिक रुपमा लगानी गरेर उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बन्यो भने युवा विदेशिनु पर्दैन, जिल्ला जिल्लामा युवा आफैंले रोजगारी सिर्जना गर्न सक्छन्, बजेटको यो सकारात्मक पक्ष हो ।”
त्यसैगरी भक्तपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केपी अवालले व्यवसायीको हितमा बजेट आएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकारले भ्याट फिर्ता खारेज गर्नु राम्रो भएको बताउँदै कम आय हुनेलाई कम कर र बढी आय हुनेलाई कर बढी लगाउनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।
दूध डेरी, कपडा पसल, मासुपसल लगायत घरेलु उद्योग तथा व्यवसायलाई सरकारले प्रोत्साहन दिनु राम्रो भएको प्रतिक्रिया दिँदै उहाँले भूकम्पपछि पुनःनिर्माणको चरणमा देश रहेको अवस्थामा निर्माण सामग्रीलाई सहज र सरल बनाउन सरकारको ध्यान पुग्नसकेन भन्नुभयो ।
“उद्योगीले बारम्बार उठाउँदै आएको बहु दर भ्याटलाई बजेटले सम्बोधन गरेको छैन,” अवालले भन्नुभयो । उद्योग वाणिज्य संघ भक्तपुरका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले समग्रमा बजेट उद्योग एवं व्यवसाय सञ्चालन गर्न उत्साह दिनेगरी आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?