फ्रन्ट सिटका मालिक !


राम्रो कविता लेख्ने कविले जुन क्षेत्रमा पनि सफलता प्राप्त गर्न सक्छ । राम्रो कवि राम्रो कथाकार हुन सक्छ, असल निबन्ध लेख्न सक्छ अनि राम्रो पत्रकार बन्न सक्छ । यति मात्र हैन अन्य काममा पनि सफलता प्राप्त गर्न सक्छ । राम्रो कवि उत्तम कर्मचारी बन्न सक्छ, सिद्धहस्त चालक बन्न सक्छ, मीठो खाना बनाउने सेफ बन्न सक्छ आदि आदि । विगत तीन दशकदेखि कविको छवि बनाएका किशन सिंह धामी माथिका यी क्षेत्रमध्ये कतिमा सफल भए, मलाई पूर्ण जानकारी छैन तर उनी लेखनका विविध क्षेत्रमा भने सफल भएका कुराचाहिँ प्रमाणित नै भइसकेको छ ।
‘अन्धकारको अनुसन्धान’, ‘शान्ति खोज्दै’, ‘गजबार नभएको शहर’ जस्ता कविताकृति मार्फत नेपाली काव्यजगतमा नमेटिने स्थान बनाइसकेका कवि किशनको गद्य लेखन पनि उत्तिकै सशक्त भएको कुरा शायद धेरैलाई थाहा छैन । उनको यसअघि प्रकाशित उपन्यास कृति ‘कलेज गर्ललाई चिठी’ले युवा जगतमा ठूलो लोकप्रियता प्राप्त गरेको थियो र छोटै समयमा त्यसका प्रकाशन संस्था रत्न पुस्तक भण्डारले नयाँ संस्करण निकालेको थियो र अहिलेसम्म त्यसका कैयौं संस्करण निस्किसकेको हुनु पर्छ ।
कवि किशनको दोस्रो गद्य पुस्तकको नाम हो– ‘फ्रन्ट सिट’ । यो उनको संस्मरण कृति हो । यस कृतिमा उनले आफू नेपालस्थित फ्रान्सेली राजदूतावासमा करिब दुई दशक काम गर्दाका विविध अनुभवलाई लिपिबद्ध गरेका छन् । पछिल्लो समयमा नेपालीमा लेखिएका संस्मरण पुस्तकहरू लोकप्रिय हुँदै गएका छन् । ती कृति पूर्वराष्ट्रपति, पूर्व सेनापति, पूर्वमन्त्री आदिका छन् । ती ठूला ओहोदामा बसेका व्यक्तिले गरेका सुकर्म अथवा कुकर्मका विषयमा लुकेका कथा पढ्न सबैलाई चासो हुने भएकाले तिनले पाठक तान्नु स्वाभाविकै हो । कवि किशन फ्रान्सेली दूतावासमा कुनै ठूलो पदमा आसीन थिएनन् । उनी त राजदूतको एउटा सहयोगीका रूपमा रहेर सरुवा भएर आउने विभिन्न राजदूतलाई सघाएका थिए । यस हिसाबले उनको संस्मरण त्यति रूचिकर नहोला कि भन्ने लाग्न सक्छ । तर यसको अध्ययनपछि यो भ्रमको निवारण सहज हुन्छ ।
किशन मेरा एकजना असल र नजिकका मित्र हुन् । उनका हरेक पुस्तक मैले प्रकाशनपूर्व नै पढ्ने र आफूले जानेका सल्लाह–सुझाव दिने अवसर पाएको छु । यही नै उनको पहिलो पुस्तक हो जुन मैले प्रकाशनको तीन वर्षपछि मात्र पढ्ने अवसर पाएँ । त्यो पनि स्वदेशमा हैन विदेशमा ! यस बीचमा उनको कवितासंग्रह ‘एटलान्टिकका भँगालाहरू’ प्रकाशनमा आइसकेको छ । आजीविकाका लागि जुनसुकै पेसा–व्यवसायमा लागे पनि अथवा जतिसुकै व्यस्त दिनचर्यामा रहे पनि लेखनलाई निरन्तरता दिन किशन कहिल्यै चुकेका छैनन् । यही निरन्तरताले उनलाई एकजना कर्मठ र लगनशील लेखकका रूपमा उभ्याएको छ ।
प्रकाशनको तीन वर्ष बितिसक्दा पनि किशनको संस्मरण ग्रन्थ ‘फ्रन्ट सिट’ले जति चर्चा पाउनु पर्ने हो र यसको मूल्यांकन हुनु पर्ने हो त्यो भएको छैन । यतिसम्म कि पत्रपत्रिका अध्ययन र सामाजिक सञ्जाल भ्रमणमा रुचि राख्ने मलाई नै के भ्रम थियो भने यो उनको कवितासंग्रह हुनु पर्छ । अवश्य मौका मिले एक दिन रस लिएर पढ्ने छु । यो पुस्तकको सञ्चारमाध्यममा चर्चा हुन नसकेकै कारण यस्तो भ्रम पर्न गएको रहेछ । उनको नजिकको मित्रको त यो हविगत छ भने अन्य पाठकले यो पुस्तकको गुणवत्ता थाहा पाउने कुरै भएन ! मैले नेपालमै यो पुस्तकको खोजी गरेर अध्ययन गर्नु पथ्र्यो तर मेलोेसो मिलाउन सकिएनछ । आखिर यो पुस्तक पढ्न उनको हालको कर्मभूमि अमेरिकै आइपुग्नु प¥यो । उनी अमेरिकाबासी भएपछि भेटघाट र सम्पर्क पातलिएपछि उनका सिर्जना अध्ययन र सुझाव–सल्लाहको सिलसिला पनि यसरी टुटेको रहेछ । यो सम्झेर म आफैलाई अप्ठ्यारो महसुस पनि भयो ।
संस्मरण ठूला ठूला नामधारी व्यक्तिका मात्र हैन सामान्य मान्छेका पनि उत्तिकै महत्वपूर्ण, रसिलो अनि ऐतिहासिक तथ्यमा आधारित हुन सक्छ, बनाउन सकिन्छ भन्ने पुष्टि किशनको यो पुस्तक पढ्दा स्पष्ट हुन्छ ।
बीस वर्ष फ्रान्सेली दूतावासमा काम गर्दा उनले करिब आधा दर्जन राजदूतलाई सहयोग गरे अनि त्योभन्दा निकै बढी राजदूतावाससँग सम्बन्धित स्वदेशी तथा विदेशीहरूको स्वभाव नियाल्ने अवसर पाए । ती सबै घटनाक्रमलालाई उनको कविहृदयले नियालेको मात्र रहेनछ इतिहासकारको जस्तो सूक्ष्म दृष्टि पनि लगाएको रहेछ । लाजिम्पाटस्थित फ्रान्सेली दूतावासमा पहिलो पटक पाइला राखेदेखि नै उनले त्यहाँका घटनाक्रमलाई आफ्नो डायरीमा टिप्ने अनि मस्तिष्कमा मथ्ने काम सुरु गरिसकेका रहेछन् । उनको यही योजना र सचेत दृष्टिकै कारण नेपाली साहित्यका लागि मात्र हैन कूटनीतिक क्षेत्रका लागि पनि महत्व राख्ने उपयोगी पुस्तक जन्मन पुगेको छ ।
किशन फ्रान्सेली दूतावासमा कार्यरत रहेको कालखण्ड नेपाली राजनीतिमा उतारचढावपूर्ण वर्ष थिए । त्यही समयमा माओवादी युद्धको सुरुवात, चरमोत्कर्ष र शान्तिपूर्ण अवतरण भयो भने नेपाली इतिहासकै सबैभन्दा दुर्दान्त घटना राजदरबार हत्याकाण्ड पनि हुन पुग्यो । यी दुवै घटना नेपालको आन्तरिक राजनीतिसँग मात्र सीमित नभई यसमा कूटनीति पनि मिसिन पुगेको थियो । त्यसमा युरोपको शक्तिशाली राष्ट्र फ्रान्सको के कस्तो दृष्टिकोण अनि त्यस्ता घटनापछि उनीहरूको सक्रियता, व्यवहार कस्तो हुने रहेछ भन्ने जानकारी राख्न चाहने कूटनीतिका विद्यार्थीका लागि यो पुस्तक गतिलो सन्दर्भस्रोत हुनसक्छ ।
किशनले यही पुस्तकमै कतै लेखेका छन्– कुनै उच्चपदस्थ व्यक्ति सफल हुनका लागि सुरुमा उसले सवारी चालक र सुरक्षागार्डलाई विश्वासमा लिन सक्नु पर्छ अनि उसको यी दुई सहयोगी पूर्ण बफादार हुनु पर्छ । पदमा रहुन्जेल उनले यो बफादारी पूर्ण रूपमा पालना गरेको देखिन्छ । किनकि उनको सम्पर्कमा थुप्रै पत्रकार रहे पनि त्यतिबेलाका कतिपय संवेदनशील घटनाहरूलाई सार्वजनिक हुन दिएका रहेनछन् । पदबाट बाहिरिएको केही वर्षपछि उनी आफैले संस्मरणका रूपमा ती कुरा बाहिर ल्याएका छन् । तत्कालीन अवस्थामा ती कुरा बाहिर आएका भए त्यसको महत्व अलग्गै हुन्थ्यो र घटनाक्रम उत्तेजक भई त्यसले अर्कै मोड लिन पनि सक्थ्यो । अहिले आचारसंहिताबाट बचेर ती घटनाक्रमलाई पुस्तकमा ल्याउँदा विदेशी दूतावासमा हुने असहज कृयाकलाप र राजदूतहरूका कूकर्महरूको भण्डाफोर हुन पुगेको छ । कवि किशनको पत्रकारिता सीपबारे त म पूर्वजानकार होइन । यो पुस्तक आद्योपान्त पढ्दा भने उनमा पत्रकारिता सीप पनि प्रचूर रहेको मान्नै पर्ने हुन्छ । नत्र तथ्य संकलन र त्यसको प्रस्तुतिम रोचकता र कौतुहलता यस किसिमले पोखिन संभव थिएन ।
सन् १९९३ को मार्च महिनामा राजदूत मिसेल गालाससँग सम्बन्धित एउटा घटनालाई सांकेतिक रूपमा तर बुझिने किसिमले किशनले यसरी लेखेका छन्– ‘‘भोलिपल्ट आइतबार । छुट्टी थियो । फोन गर्न भनी डेराअगाडिको पसलमा निस्केको थिएँ । त्यहाँ बिहान चिया पिउने र पत्रपत्रिका पढ्नेहरूको भीड भइरहन्थ्यो । सबैका हातमा पत्रपत्रिका थिए । भक्तपुरको एउटा मन्दिरको मूर्ति चोरी भयो भनी समाचार छापिएको रहेछ । टेलिभिजनमा त बेलुकी नै समाचार आइसकेको रहेछ । २०० वर्ष पुरानो, महत्वपूर्ण मूर्ति चोरिएको रहेछ । त्यो समाचार पढेपछि अघिल्लो दिन राजदूतसँगको बौद्धयात्रा र बद्री दाइले भनेको बाथरुमको कुरा सम्झेँ । मूर्तिचोरीमा माथिल्लो तहका व्यक्तिहरू संलग्न रहेका हुन्छन् भन्ने समाचार आउने नगरेका होइनन् तर तिनलाई कसले छुने ?’’
गरिब देश र कमजोर सरकार भएपछि विदेशीहरूले कतिसम्म हेप्ने गरेका छन् र उनीहरू समक्ष हाम्रा नेता र कर्मचारी कसरी नतमस्तक भएर नहुने कामलाई पनि हुने गरेर तत्काल तोक आदेश दिने गरेका छन् भन्ने अर्को दृष्टान्त पनि किशनले किताबमा मार्मिक ढंगले लेखेका छन्– ‘‘नेपालमा जहिले जे चाहिए पनि राजदूतावासले चिठी लेख्ने गर्छ र त्यस्ता चिठीहरूमा मन्त्रालय, सम्बन्धित विभाग वा कार्यालयले तुरुन्त तोक लगाइहाल्छन् । नेपाली सरकारी कार्यालयहरूमा सबभन्दा छिटो काम हुने भनेकै विदेशी राजदूतावासको काम हो । तुरुन्तै भइहाल्छ । गरिब नेपालीहरूले दाताहरूलाई कति मान गर्दा रहेछन् भन्ने यसबाट बुझिन्छ । चाहिनेभन्दा बढी मान भएपछि को मात्तिदैन ? जुनसुकै नेपालीबाट पाएको सम्मान अनि ट्राफिक प्रहरीबाट पाएको स्यालुटले आफै मपाइँ भइरहेका राजदूतले यो मेरो देशले पाएको सम्मान हो भन्ने कुरा बिर्सिंदा रहेछन् ।’’
दूतावासको सेवा रहुन्जेल पदीय मर्यादा र आचारसंहिताका कारण राजदूतका यावत् गलत र असहज कृयाकलापलाई उनले सहेर बसे पनि पदबाट बाहिरिएपछि त्यसलाई सार्वजनिक गरिदिनु पर्छ ताकि भविष्यको पुस्ताले सुधार्न सकुन् भन्ने उद्देश्य कवि किशनले राखेको देखिन्छ । पुस्तकमा केवल राजदूत र दूतावासका गलत र असहज कृयाकलापको वर्णन मात्र छैन, विकसित राष्ट्रले गर्ने तौरतरिका, विदेशमा आफ्ना राष्ट्रका नागरिकप्रति दूतावासले गर्नुपर्ने कर्तव्य, विदेशमा आफ्नो राष्ट्रको मान, इज्जत र छवि उच्च राख्नका लागि राजदूतले निर्वाह गर्नुपर्ने भूमिका पनि यो संस्मरणको हरेक खण्डमा मिसिएर आएको छ । त्यसैले यो पुस्तक साहित्यको एउटा संस्मरण÷निबन्ध विधाभित्र परेर पनि यसले कूटनीतिक क्षेत्रको प्रतिनिधित्व पनि गरेको छ ।
मिसेल गालास, डानियल दुपौँ, मिसेल लुमो, क्लाउड एम्ब्रोजनी, मिसेल जोलिभेट र जिल ह्यानरी गाह्रौँ जस्ता फ्रान्सेली राजदूतको सहयोगीका रूपमा कवि किशनले काम गर्दाका विविध तीतामीठा अनुभव समेटेर तयार पारेको यो पुस्तक उनको निजी जीवनको सम्झना मात्र नभई तत्कालीन समयको राजनीतिक र कूटनीतिक घटनाक्रमको दस्तावेज बन्न पुगेको छ । कुनै सन्दर्भमा त अहिलेसम्म नखुलेका प्रसंगहरू समेटिएकाले ती झनै रोचक बन्न पुगेका छन् अनि इतिहासबाट पाठ सिकेर वर्तमान सुधार्नु पर्ने खालका छन् । तीमध्येको एउटा हो तत्कालीन ‘आतंकवादी’ घोषित माओवादीका नेताहरूसँग फ्रान्सेली कूटनीतिज्ञहरूको हिमचिम ! अहिलेको सन्दर्भमा यो उल्लेख गर्न लायक घटना नहुन सक्छ तर तत्कालीन समयमा फर्केर हेर्ने हो भने नेपालको नियम कानुनलाई विदेशीले ठाडै चुनौती दिएको र त्यसमा नेपाल सरकारले केही गर्न नसकेको अवस्था भनेर बुझ्न सकिन्छ ।
‘‘जबसम्म ओहोदाको प्रमाणपत्र बुझाउँदैनन्् तबसम्म औपचारिक रूपमा राजदूत मानिदैनन् । तर, नयाँ फ्रान्सेली राजदूत यसबीच अरू देशका कूटनीतिज्ञहरूसँगको अनौपचारिक भेटघाटमा व्यस्त हुन थालिसकेका थिए । अगस्ट १० मा भारतीय राजदूत र माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । अगस्ट १३ मा जापानी राजदूत र युएनडीपीका हाकिम, अगस्ट १४ मा चिनियाँ राजदूत र अनमिन प्रमुख जस्ता कूटनीतिज्ञहरूसँग उनको भेटघाट भइसकेको थियो ।’’ पहिलेदेखि अहिलेसम्म यो परम्परामा सुधार हुन सकेको छैन, बरु यो विकृति झनै बढिरहेको पाउन सकिन्छ । कवि किशनले साहित्य र कूटनीतिक विधाको यस पुस्तकमा नेपाललाई विश्वमा उच्च राख्ने उद्देश्य लिने राजनीतिज्ञ तथा कूटनीतिज्ञलाई ठूलो ज्ञान दिने प्रयास गरेका छन्, यदि उनीहरूले यस पुस्तकलाई गहन रूपमा अध्ययन गरेर यसभित्रको सन्देश छिचोल्ने प्रयास गरे भने !
पुस्तकको एक चरण लेखन सकिएपछि त्यसलाई छापेर पाठकसमक्ष पु¥याइहाल्ने हुटहुटी किशनमा जाग्छ । यो उनको पुरानै बानी हो । यसप्रति म पूर्ण जानकार छु । यो पुस्तक पनि अलि हतारमै छापिएको स्पष्ट हुन्छ । नत्र अझै केही सुधार गर्न सकिएको भए यस पुस्तकको महत्व झनै उच्च हुने निश्चित थियो । जस्तै पुछारमा उनले आफ्नो अमेरिका यात्रा संस्मरण अध्याय राखेका छन् । यसलाई पूर्ण रूपमा फ्रान्सेली दूतावासमय बनाइएको भए उत्तम हुने थियो अनि परिशिष्टका रूपमा अन्य व्यक्तिका तीनवटा लेखलाई समावेश गरिँदा यस पुस्तकको महत्ता बढ्नभन्दा घट्न पुगेको छ । अवश्य यस पुस्तकको अर्को संस्करणमा केही सुधार गर्न किशन तयार हुनेछन् ।
(लेखक बरिष्ठ पत्रकार तथा साहित्यकार हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?