म जातीय राजनीतिको सधैं विरोधी


शान्ता चौधरी, सांसद एवं सचेतक, नेपाल कम्युनिष्ट पार्टी, नेकपा

एउटी कमलरी चेली,दुईदुई चोटीसम्म जनताको प्रतिनिधित्व गर्नुभयो, कस्तो अनुभूति गर्नुभएको छ ?
हो, तपाईले भनेजस्तै मैले दुई पटक जनताको प्रतिनिधित्व गर्ने अवसर पाएकी छुँ । यो भन्दा अगाडी मैलै २०६४ को संविधान सभाको निर्वाचनपछि सभासद बन्ने मौका पाएँ । मेरो पार्टीले मलाई विश्वास गरेर मेरो वर्ग, समुदाय भनौ खासगरि भूमहिन,कमैयाँ कमलरीहरूको प्रतिनिधित्व गर्ने अवसर दिएको थियो । यसपटक पनि फेरी मेरो गौरवशाली पार्टी अर्थात तत्कालिन नेकपा एमालेले संघको प्रतिनिधि सभा सदस्यमा मनोनित गरेर मलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जस्तो ठूलो दलको सचेतक समेतको जिम्मेवारी दिएको छ । गौरवको अनुभूति भएको छ । जिम्मेवारी बोध गरेकी छुँ ।

पहिला सभासद र अहिले सांसद बन्नुभयो,कसरी सम्भव भयो ?
सवैभन्दा त पहिला पार्टीप्रति वफादार हुनुप¥यो । पार्टीमा मेरो निरन्तरता,लगनशिलता, इमान्दारिता, धैर्यता र जनताप्रति उत्तरदायित्व बहन गरेर नै होला । मेरो गौरवशाली पार्टी र दङ्गाली जनताले मप्रति विश्वास गरेर नै होला म फेरी पनि दोस्रो चोटी सांसद बन्न अवसर पाए ।

कमलरी वस्दा अहिलेको राजनीतिक क्यारियर बन्ला भन्ने लागेको थियो ?
त्यो बेला मैलै यस्तो कल्पना समेत गरेकी थिइन । तर, कहिले काही सोच्ने गर्थे एउटा सफल नेता बनेर मेरो वर्ग, समुदाय (भूमहिन, कमैया, कमलरी) को उत्थानको निम्ती अर्थात उनिहरूको अधिकार सुनिश्चिताको निम्ती केहि गर्नुपर्छ भन्ने लाग्थ्यो । यहि साँेचले होला म कमलरी लागेकै बेला जिल्लामा भूमिहिनहरूको एउटा संगठन थियो, भूमि अधिकार मञ्च । म लगायत धेरै जना साथीहरूले मालिकलाई ठगेर, झुक्याएर बारीमा घाँस काट्न जान्छौ भनी भूमिहिन,कम्लरीहरूको संगठन बनाउनमा लागेका थियौं । यसरी म भूमि अधिकार मञ्चको सदस्य हुदै जिल्ला अध्यक्ष, केन्द्रीय उपाध्यक्ष भए । त्यही क्रममा मेरो सक्रियता एवं क्रियाशिलताले तत्कालिन नेकपा एमाले नेताहरूले मलाई आफ्नो पार्टीको साधारण सदस्य बनाउनुभयो । सोहि क्रममा भूमि अधिकार मञ्चको केन्द्रीय महाधिवेशन दाङमा भएको थियो । त्यहि महाधिवेशनमा तत्कालिन नेकपा एमालेको महासचिव माधव कुमार नेपाललाई प्रमुख अतिथिको रुपमा बोलाएका थियौं । उहाँले हाम्रो निम्तोलाई स्विकार गरेर आउनुभयो । त्यहिबेला मेरो क्रियाशिलताले होला मलाई उहाँले नै संविधान सभाको सभासद बन्ने अवसर दिनुभयो । त्यसपछि विस्तारै राजनीति बुझ्दै गए, अहिलो यो अवस्थासम्म आइपुगेको छु, यी सवै तपाई लगायत आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगले गर्दा सम्भव भएको भन्ने लाग्छ ।

विगतलाई केलाउदै जँदा कस्तो अनुभूति हुन्छ ?
निको भएको घाउलाई कोट्याउँदा कस्तो दुख्छ, त्यस्तै नै मेरो विगत सम्झिने हो भने मैले मन थाम्न सक्दिन । कहिलेकाही त डाँको छोडेर रुन मन लाग्छ । त्यसैले म विगतलाई धरै सम्झिन चाहन्न । अव यो विषयमा केलाउन जरुरी पनि छैन । फेरी यो विषयमा मैलै ‘कमलरी देखि सभासद सम्म’ को किताबमा सवै उल्लेख गरिसकेकी छुँ । यदि कसैले मेरो विगतलाई केलाउन चाहनुहुन्छ भने त्यही पुस्तक पढ्न अनुरोध गर्दछु ।

तपाई सभासद एंव प्राकृतिक स्रोत साधन समितिको सभापति हुदाको बखतका केहि अनुभव बताईदिनुस न ?
मेरो कमलरी जीवनको भन्नुस या पहिलो पटक सभासद एवं प्राकृतिक स्रोत साधन समितिको सभापति बन्दा धेरै दुःखदायी र रमाईलो घट्नाहरू छन् । मेरा जिन्दगीमा कहिले पनि भुल्न नसक्ने घटनाहरू छन् । त्यो पनि यो देशको सचेत नागरिक मात्र नभई देशको कानुन बनाउने व्यक्तिहरूको हेराई, बुझाई र भनाइले म अझै पनि आजित छु । तर पनि म हरेश खाएको छैन । हुन त स्वभाविक रुपमा म त्यतिबेला आंैठा छाप सभासद थिए । तर, सचेत नागरिकबाट त्यस्तो अपमान गर्लान जस्तो मलाई लागेको थिएन । त्यो बेला म कस्तो पृष्ठभूमिबाट आएको हुँ भनी कसैले बुझ्ने प्रयास गरेरन । तरपनि म औंठा छापको टयाग चिर्नलाई घरमा छोराछोरीसंग रातभरी पढ्ने लेख्ने गरे । केहि महिनामा मैले औंठा छाप लगाउने ठाउँमा सहि गर्न थाले । पछि तिनै मान्छे मसंग हात मिलाउन आउन थाले । पहिला मसंग बस्न नरुचाउने सभासदहरू नियमित मसंग बसेर छलफल गर्न थाले । त्यसवेला विभिन्न समितिहरू बनाइएको थियो । त्यहि समिति मध्ये मलाई प्राकृतिक स्रोत साधन समितिको सभापति बनाइयो । ती समितिहरू मध्ये मैले नेतृत्व गरेको समिति उत्कृष्ट हुनपुग्यो । सवैजना अचम्मित भए । पढेलेखका विद्धानहरू भन्दा आंैठे छापहरूले पनि केहि गर्न सक्छन् भन्ने मैले जब उदहारण प्रस्तुत गरे त्यसपछि मलाई ओठा छाप भन्नेहरू आफै लज्जित मात्र भएनन, कोहि त मेरा अगाडी समेत पर्न सकेनन् ।

आजको तपाईको राजनीतिक उचाईको कुरा गर्दैगर्दा प्रेरणा दिने व्यक्ति चा“ही को को थिए ?
जीवनमा राजनीति मात्र नभई हरेक क्षेत्रको उचाईमा पुग्न चाहने हो भने संसारमा असम्भव भन्ने कुनै चिज छैन । तपाई हामीले देखेका छौ, सुनेकै छौ, हिजो चिया बेच्ने व्यक्ति हाम्रो छिमेकी देश भारतको शक्तिशाली प्रधामन्त्री भएका छन् । हात नभएकाहरू खुट्टाले लेखेर पिएचडी गरेका छन्, खुट्टा नभएकाहरू संसार घुमेका छन् । मुख्य कुरा के हो भने मान्छे भित्र लगाब, निरन्तरता, लगनशिलता, इमान्दारीता र धैर्यता हुनुपर्छ । यहि कुरासंगै राजनीतिमा जनताप्रति उत्तरदायि र पार्टीप्रति बफादार भएर लाग्ने हो भने अवश्य त्यो उचार्इंमा पुग्नलाई धेरै समय लाग्दैन ।

राजनीति शुरु गर्दै गर्दा कहा कमलरीले राजनीति गर्नु भनेर हतोत्साही गर्ने पनि थिए होलान नी ?
थिए नि । तर म कहि कतै विचलित नभएर अगाडी बढिरहे ।

शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचेतक बन्नुभएको छ, कत्तिको उत्साहित हुनुहुन्छ ?
यसभन्दा अगाडी पनि म यो मुलुकको सवैभन्दा ठुलो दल तत्कालिन नेकपा एमालेको संसदीय दलको सचेतक भएर काम गर्ने अवसर प्राप्त गरे । अहिले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि फेरी त्यहि पदमा दोहोरिएकी छँु । तपाईले भने जस्तै यो देशको शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको सचेतक जस्तो जिम्मेवारी पद पाएपछि उत्साहित नहुने कुरै भएन । म जति उत्साहित छु, त्यति जिम्मेवार पनि भएकी छँु ।

तपाई प्रायश मधेश आन्दोलनको विरुद्वमा देखिनुभयो, पार्टीको लाईनको ख्याल गरेको या साच्चिकै मधेशमा विभेद नै नभएर तपाई त्यसो गर्नुभएको ?
म अहिलेसम्म कुनै जात विशेषको राजनीति गरेको छैन र गर्दिन पनि । र जातिय राजनीति धेरै टिक्दापनि टिक्दैन । जहांसम्म तपाईले मलाई मधेश विरोधी भन्नुभयो, म मधेश विरोधी होइन,मधेशीहरूको आन्दोलनको विरोधी हुँ । मधेशी मात्र नभई हरेक जातिय आन्दोलनको विरोधी हुं । अहिले जातिय राजनीति गरेर नेपालमा मिलेर बसेका दाजुभाइ विच लडाउने र भत्काउने काम भइराखेको छ । हाम्रो सुन्दर देश नेपालमा एक सय २२ जातजाती छन् । के यी सवै जातजातिले जातिय राजनीति गर्न सम्भव छ त ? पक्कै पनि यो सम्भव छैन । बरु वर्गीय आन्दोलन अझै आवश्यक छ । सवै ठाउँमा जातिय व्यक्तिहरू पछाडि छैनन बरु बरु वर्गका हिसवाले जनता पछाडि छन् । अहिले देश हाँकीरहेका जातीहरूको पहाडी समुदाय हेर्नुस त धेरै ब्रहामण क्षेत्रीहरू पछाडि छन् । तराईमा थारु, मधेशी, दलित समुुदायभित्रका वर्ग पछाडि छन् । यी वर्गको अधिकार प्राप्तिका लागि अझै वर्गीय आन्दोलन आवश्यक छ । हुन त अहिलेको संविधानमा पछाडि पारिएका वर्गको लागि धेरै हदसम्म अधिकार सुनिश्चित गरिएको छ तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन् । त्यसैले यी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सवै वर्गीय आन्दोलनका समर्थक एक हुनु जुरुरी छ ।

नेकपा नेतृ शान्ता चौधरीवाट उत्पीडनमा परेका समुदायका महिलाले के शिक्षा लिन सक्छन् ?
हिजोको कमलरी आज एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको सचेत हुने अवसर मिलेको छ । परिकल्पना समेत नगरेको नीति निर्माणको ठाउंमा पुगेकी छँु । उक्त ठाउंमा पुगिसकेपछि कति गर्न सके त्यो जनताले समिक्षा गर्ने कुरा हो । तर एउटा कमलरी, पछाडि पारिएको वर्ग भूमिहिन सिमान्तकृतलाई काम गर्ने अवसर दिएपछि काम गर्न सक्छन भन्ने उदाहरण पेश गरेकी छुँ । यसवाट उत्पीडनमा परेका आम समुदायले शिक्षा लिन सक्नुहुन्छ जस्तो मलाई लाग्छ । म भन्न चाहन्छु तपाई कमजोर छु भनेर कहिले हरेश खानु हुदैन । मान्छेको जीवनमा सवैभन्दा ठूलो आँट मेहनेत,लगनशीलता र इमान्दारीता हो । यी कुरालई आत्मसाथ गरेर अगाडि बढनुस, तपाईहरूका पछाडि सवै नलागी सुखै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?