कोठीमा काखको नानी र नेपाल सम्झेर बाँचे


सुनिता दनुवार, संस्थापक, शक्ति समूह नेपाल

भर्खरै प्रतिष्ठित अमेरिकी पुरस्कार ट्राफिकिङ इन पर्सन रिर्पोट हिरो अवार्डद्वारा सम्मानित हुनुभएको छ, कस्तो अनुभूति गर्नुभएको छ ?
अवश्य यस्तो प्रतिष्ठित अवार्ड प्राप्त हुँदा खुशी त लागीहाल्छ मान्छेलाई । तर यो अवार्डका पछाडि फर्केर हेर्ने हो भने विगतका संघर्षका दिन सम्झेर ल्याउदा भने भावुक र विह्वल हुन्छु, त्यो भयानक क्षतिको भरपाई त अवार्ड पक्कै हुन सक्दैन तर मानव बेचविखन विरुद्वनै लागीरहनको लागी थप हौसाला र उर्जा मिलेको छ । नेपालको प्रतिनिधित्व गरेर विश्वमा चिनिन पाएँ, गौरव महसुश गर्दैछु ।

नेपालमा पहिला चेलीवेटी वेचविखन भनिन्थ्यो अहिले मानववेचविखन भनिन्छ, चेलीवेटी वेचविखनको अवस्था नेपालमा कस्तो छ ?

यो शव्दकै मात्र कुरा हो । एक प्रकारले भन्ने हो भने पहिल्यै धेरैजसो महिला किशोरीहरू बिक्री हुन्थे । बिशेषत: भारतका यौनशालामा बिक्रि हुने प्रवृत्तिलाई मध्यनजर गरेर त्यो शव्द प्रयोगमा ल्याईएको हो तर आज बेचविखनमा पुरुष महिला बालबालिका जो कोहि पनि परिरहेका छन अत: यो मानव बेचविखन हो । कोठीमा, वैदेशिक रोजगारीका नाउमा, अंग प्रत्यारोपणका लागी तथा विभिन्न वहानामा जो कोहि पनि यसको सिकार भैरहेका छन । अहिले पनि राष्ट्रिय मानव अधिकार आयोगकै प्रतिवेदन हेर्ने हो भने ६ हजारभन्दा बढि बार्षिक रुपमा बेचविखनमा परेको उल्लेख छ तर यो संख्या अझ बढन नि सक्छ । वेचविखनका नयाँ स्वरुप तथा खुल्ला सिमाना आदिले थप चुनौति दिईरहेको छ ।

नेपालमा अहिले घटेको छ कि बढेको छ मानववेचविखन ?
तुलनात्मक रुपमा हिजोको अवस्था र आजको अवस्थालाई हेर्दा घटेको नै छ भन्नुपर्छ । तर दिनदिनै नयाँ घटना बाहिर आइरहेका छन् । बढेको छ भनौ भने विगत तिन चार बर्षमा मानव अधिकार आयोगको बार्षिक प्रतिवेदनमा संख्या घट्दै गैइरहेको उल्लेख छ । तर वैदेशिक रोजगारीका नाममा, विवाहका नाममा, शिक्षाका नाममा बेचविखन हुने क्रम अझ व्यापक छ । एक अभियन्ताका हिसावले के भन्छु भने जनचेतना मात्र पर्याप्त हैन र हुदैन पनि, खाली पेटले चन्द्रमालाई पनि रोटी देख्छ भने झै जनचेतनासँंगै गरिवी निवारणका कार्यक्रमहरू अर्थपुर्ण ढंगले लैजानु पर्छ । कानूनको कुरा गर्ने हो भने कानून बलियो र पिडितमैत्री छ तर कार्यन्वयन चुस्त हुनु अझै आवश्यक छ ।

तपाई आफू पनि त्यो अध्यारो अध्याय पुरा गरेर आउनुभएको,आफ्नो जीवनलाई कसरी पूनर्निर्माण गर्नुभयो ?
हेर्नोस, मैले पनि यसरी आफ्नो जीवनको पूननिर्माण गरेर यहाँ आईपुग्छु सोचेको थिईन । कोठीमा काखको नानी संझेर बाँचे र पछि नेपाल फर्कने आशले बाँचे । पटक पटक समाजले माथ्र्यो । कहिले आफन्तले मार्थे तर पनि आफुलाई टिकाईराखे तर सबैको हौसला यतिकै नहुन सक्छ । पूनर्निमार्ण गर्न सहज कार्य हैन । त्यसमापनि मनको पूनर्निर्माण गर्नु प्रभावितको पूनमिलन गराउन सहज छैन । विवाहपछि श्रीमानको साथ र विशेषत: आफुजस्तै पभावित महिलाहरूको समुह (शक्ति समुह) सँगै रहेर एक अर्काको हौसला बन्दै यहाँ सम्म आईपुगेको हुँ र आज अन्य बेचविखन प्रभावितका लागी हौसला बनेर उभिईरहेका छौ ।

चेलीवेटी वेचविखनलाई नेपालमा कसरी समाप्त पार्न सकिन्छ ?
मानव बेचविखन नै भनौ होला, चेलिबेटी बेचविखन भन्दा पनि । यसका लागी जनचेतना चाहियो । पहिलो कुरासँगै आर्थिक सशक्तिकरणका कार्यक्रम पनि । अनि स्वदेशमै केहि गर्नुपर्छ भन्ने सोँचको विकास गराउनु जरुरी छ अर्कोतर्फ शिक्षा अनिवार्य र शिक्षामा मानव बेचविखन विस्तृत रुपमा पढाई, महिला पुरुष सबै बेचविखन प्रभावितलाई संरक्षण सेवा अर्थपूर्ण पूनमिलन आदि कार्यबाट यो संभव छ । जनजनमा नैतिक शिक्षा पनि दिईनुपर्छ । तर यो सरकारको काम या गैरसरकारी संस्थाको काम भनेर कित्ता छुटाईनु हुन्न यो हामी सबैको कार्य हो सरकारको सवल नेतृत्वमा प्रभावकारी कार्यक्रमका साथमा यो संभव छ ।

वेचविखनमा परेका र पछि उद्दार गरिएका महिलालाई समाजमा पुर्नस्थापित गर्नु कत्तिको जटिल छ ?
मैले अघि पनि जोडिसकेको छु , प्रभावितको संरक्षण चुनौतिपुर्ण छ । उद्वार सहज छैन, स्वदेश फिर्ती त्यस्तै छ । भारतबाटै ल्याउन त पापड बेल्नुपर्ने अवस्था छ । ईराकमा वैदेशिक रोजगारीका नाममा बेचिएका नागरिकको त कुरा छोडौ । संरक्षण गृह पर्याप्त छैन । दीर्घकालिन पुर्नस्थापना गृह त झनै अपर्याप्त छ । पूर्नमिलन हुन सहज छैन । ६ महिना या एक बर्ष मिति तोकेर सिलाई सिकाएर एउटा सिलाई मेसिन दिएर त्यहि गाँउमा समाजमा पठाउनु अर्को जोखिमता फेरी उब्जिन सक्छ । मनो विमर्श, तालिम, शिक्षासँगै समयको अन्तरालमा यस सवालमा सक्षम भएपछि र परिवार र समुदाय नै सकारात्मक र सहज भएपछिको पूनमिलन भने अलि अर्थपुर्ण देखिएको छ ।

जीवनको त्यो अध्याँरो अध्याय पार गरेर अहिले मानववेचविखन विरुद्वको अभियानमा लाग्नुभएको छ , जीवन के रहेछ भन्ने लाग्छ तपाईलाई ?
कहिले लाग्छ झुसिल कीरा पुतली बन्न सक्दो रहेछ, कहिले झमककुमारीले भने जस्तै जीवन काँडा कि फुल जस्तो हुदोरैछ । त कहिले चेसका कोठा जस्तो कहि अध्याँरो कहि उज्यालो । तर जीवन यस्तै हो । आफु जलेर अरुलाई उज्यालो दिने, आफु कागज बनेर च्यापिएर अरु लाई शिक्षा दिने । म केहि हैन, यो समाजको आम नागरिक, तर मेरो जीवनलाई पढने हो भने हर कोहिलाई मानव बेचविखनबाट बच्न र यसविरुद्ध एकजुट हुन मद्धत पुग्छ जस्तो लाग्छ र मेरो जिवनको उदेश्य पनि यहि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?