कानुन व्यवसायी हकहितको पक्षमा मेरो उम्मेदवारी


हुम बहादुर खत्री, अधिवक्ता
स्याङ्जा जिल्लाको साबिक बानेथोक देउराली गा.बि.स. हाल भिरकोट न.पा.वडा नं ३ मा जन्मनुभएका अधिवक्ता हुम बहादुर खत्री बिगत १८ वर्ष देखी कानुन व्यवसायमा निरन्तर रुपमा क्रियाशिल हुनुहुन्छ । उहाँले राजनीतिशास्त्रमा स्नात्कोत्तर र वाणिज्य कानूनमा एल.एल.एम. अध्ययनरत हुनुहुन्छ । कानुन व्यवसायको शुरुवातँंगै नेपाल डेमोक्रयाटिक लयर्स एसोसियसनसँग आवद्ध भई कार्य गर्दै आउनु भएका अधिवक्ता हुमबहादुर खत्री नेपाल डेमोक्रयाटिक लयर्स एसोशियसनको आगामी श्रावण १२ र १३ गते गैडाकोट, नवलपुरमा हुन गईरहेको १० औ महाधिवेशनमा सचिव पदको उमेदवारी दिदै हुनुहुन्छ । प्रस्तुत छ खत्रीसंग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईं कानून व्यवशायमा लागेको कति वर्ष भयो ?
म बिगत १८ वर्ष देखी निरन्तर रुपमा कानून व्यवसाय गर्दै आईरहेको छु ।

नेपाल डेमोक्र्याटिक लयर्स एसोशियसन आगामी निर्वाचनमा सचिवमा तपाईको उमेदरवारी किन ?
नेपाल डेमोक्रयाटिक लयर्स एसोसियसन निष्पक्ष तथा स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन, कानून व्यवसायीको हकहित आदी जस्ता पबित्र उद्देश्य लिई स्थापना भएको संस्था हो । आजका दिनमा उल्लेखित कुरा छायाँमा परेको जस्तो भान भएको छ । मानव अधिकारको हनन् दिन प्रतिदिन वढदै गईरहेको छ । कानूनको शासन भन्ने सिद्धान्तमा मात्र सिमित भएको अवस्थामा डि.एल.ए.नेपालको उक्त उद्देश्यलाई परिपुर्ति गर्नको लागी र डि.एल.ए. भनेको प्रजातान्त्रिक पेशागत कानून व्यवशायीको साझा संस्था हो । न्यायिक क्षेत्रमा स्वतन्त्र न्यायपालिका, विधिको शासन, मानवअधिकारको रक्षा, पेशाको संरक्षण र सम्वद्र्धन गर्नको लागी मेरो उम्मेदवारी हो ।

त्यो त सवैले चुनाव पुर्व भन्छन् नि ?
नेपाली राजनीतिमा चुनाव जित्नको लागी आफुले गर्नै नसक्ने असम्भव कुरा गरी जनतालाई भ्रममा पारी चुनाव जित्ने रणनीति निकै चलेको छ तर मैले गर्नै नसक्ने कुराहरू गर्छु त भनेको छैन । मैले कार्य गर्ने भनेको डि.एल.ए.को उद्देश्यको परिधि भित्र रहि अग्रजहरूको सल्लाह र सुझाव लिई स्वतन्त्र न्यायपालिका, कानुनको शासन, मानवधिकारको रक्षा र कानून व्यवशायीको हक हितको पक्षमा कार्य गर्ने छु ।

तपाईंलाई नै सचिवमा निर्वाचित गराउनु पर्ने कारण चाहिं के नी ?
म बिगत १८ वर्ष देखी कानून व्यवशायमा लागेकोले मसंग व्यवशाायिक अनुभव छ र मैले कानून व्यवसायीको पिर मर्का बुझ्दछु । दोस्रो कुरा मेरो डि.एल.ए.को संगठन तथा अन्य कानूनी संघ संस्थामा समेत आवद्ध भई लामो समय देखी कार्य गर्दै आएको छु । डि.एल.ए. पाटनको इकाईमा २ कार्यकाल कार्य समितिमा रहि कार्य गरेको छु र डि.एल.ए. उच्च अदालत इकाईको संगठन बिस्तारमा हालसम्म निरन्तर रुपमा क्रियाशिल रहदैै आईरहेको छु । उच्च अदालत बार एसोशियसनको चुनावमा एकपटक सदस्य र एकपटक अध्यक्षको लागी चुनाव लडिसकेको छु । त्यसैले मसँग धेरै अनुभव भएकोले डि.एल.ए.लाई सशक्त रुपमा अगाडि बढाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने भएकोले नै मेरो उमेदवारी हो । त्यसैले मलाई साथीहरूले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा समेत राखेको छु ।

वकिल पनि प्रजातान्त्रिक, वामपन्थी, क्रान्तिकारी र प्रतिगामी भन्ने हुन्छ र भन्या ?
मैले अगाडि नै भने डि.एल.ए. कुनै पार्टीको भात्रृ संगठन हैन । यो त कानुन व्यवसायीको हकहित स्वतन्त्र न्यायपालिका, मानवअधिकार, कानुनको शासन, स्वच्छ न्यायको पक्षमा वकालत गर्ने संस्था हो । पछिल्ला दिनहरूमा कानून व्यवसायी राजनितिक पार्टीको प्रभावमा परि विभिन्न वर्गमा विभाजित भएको देखिन्छ ।

हरेक क्षेत्र राजनीतिकरणको मारमा छ, यो पनि राजनीतिक संगठन हो की ? व्यवसायीक संगठन हो ?
अहिलेको प्रजातान्त्रीक र बहुदलिय ब्यवस्थामा हरेक मान्छेहरू दलहरूप्रति झुकाव हुनु स्वभाविक हो । यसमा वकिलहरूले पनि विभिन्न पार्टीप्रति झुकाव राख्नु स्वभाविक नै हो । तर डि.एल.ए. आफ्नो उद्देश्यप्रति प्रतिवद्ध छ र यसको उद्देश्यले नै प्रष्ट पार्छ की यो सम्पुर्ण कानून व्यवशयाीको हक हित, अधिकार,स्वतन्त्र न्यायपालिका, मानवधिकार, विधिको शासनका पक्षमा काम गर्ने भएकोले यो कुनै राजनिति संगठन होइन । यो व्यवसायिक संगठन हो ।

नेपालको न्यायलय सधैं विवादकोे घेरामा परिरहन्छ, यो बिडम्बनाको कारण के हो ?
डि.एल.ए.को मुल उद्देश्य नै स्वतन्त्र न्यायपालिका हो । अगाडि भने जस्तो प्रजातान्त्रीक परिपाटिमा कुनै पनि मानिस कुनै पार्टीप्रति झुकाव राख्नु स्वभाविक हो तर कुनै पनि न्यायमुर्ति, न्यायपालिका विवादको घेरामा पर्नु दर्भाग्य हो ।

न्यायलय त स्वतन्त्र हुनुपर्ने हो, न्यायमुर्ति अनि तपाईं जस्ता वकिलपनि दलिय छाताभित्र संगठित हुँदा कसरी निष्पक्ष न्याय नागरिकले पाउलान ?
न्यायपालिका स्वतन्त्र हुनुपर्दछ, स्वतन्त्र न्यायपालिकाले मात्रै निष्पक्ष न्याय दिन सक्छ । न्यायपालिका स्वतन्त्र नभएमा स्वच्छ न्याय हुन सक्दैन । कुनै पनि न्यायमुर्ति दलिय छाताभित्र रहनु हुदैन र रहने व्यवस्था पनि छैन । वकिलले पनि सदैव पक्षलाई न्याय दिनको लागी खट्नु पर्दछ । जुनसुकै पार्टीप्रति झुकाव राखेतापनि न्याय प्रदान गर्ने सन्दर्भमा कानुन व्यवसायी पनि स्वतन्त्र हुनुपर्दछ ।

न्यायलयलाई राजनीनिमुक्त बनाउन सकिन्न ?
न्यायलयमा राजनीति भए जस्तो मलाई लाग्दैन । न्यायलयमा राजनीति हावी भई न्यायमा प्रभाव पार्ने कार्य कुनै पनि दल बिशेषले गर्नहुदैन । न्यायकर्मीलाई प्रभाव पार्ने किसिमका गतिविधि पनि कोहि कसैबाट गर्न हुदैन । यदि त्यस्तो छ भने पनि त्यो न्यायलय स्वतन्त्र र निष्पक्ष हुनका लागी न्यायलय राजनीतिमुक्त हुन अत्यन्तै आवश्यक छ ।

दलिय कोटामा न्यायधिशको नियुक्ति गर्ने पराम्पराले त भयानक विकृतिलाई प्रश्रय गर्दैन र ?
न्यायपालिकालाई स्वतन्त्र, सक्षम र प्रभावकारी बनाउनको लागी न्यायलयमा हुने कुनैपनि नियुक्तिमा राजनीतिकर्मी नियुक्त गर्नु हुदैन । दलिय कोटामा समेत नियुक्ति गर्न हुदैन तर राजनीतिप्रति झुकाव नभएका व्यक्ति कोहि पनि नहुने हुँदा जो सुकै व्यक्तिले जनताको आस्था र भरोसाको केन्द्र न्यायलयजस्तो गरिमामय संस्थामा नियुक्ति लिनु हुन्छ । सो पश्चात उहाँहरूले जसरी मन्दिर प्रवेश गर्दा जुत्ता बाहिर राखी भित्र प्रवेश गरिन्छ त्यसरी नै आफ्नो राजनैतिक विचार त्याग गरि नियुक्ति हुँदाका बखत लिइएको सपथलाई मुल मन्त्र बनाई न्यायकर्मीको रुपमा मात्र कार्य गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?