जुडो टोली थाइल्यान्ड प्रस्थान


काठमाडौँ: थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले यही साउन १९ र २० गते हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सञ्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु, १०० केजीमाथि रवीन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसैगरी महिला ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिने छन् । सुमित्रा, उमेश र सञ्जयबाहेक सबै एसियाडका लागि छनोट भएका खेलाडी हुन् ।
एसियाडकै लागि छनोट भएकी १२ औँं सागकी स्वर्णधारी फुपुल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनभयो । खत्री एसियाडका साथै टोकिया ओलम्पिक २०२० को विशेष तयारीका लागि हाल जापानमा छिन् ।
टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य—सचिव केशवकुमार विष्टले आज त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सो अवसरमा सदस्य–सचिव विष्टले इन्डोनेसिया एसियाडमा पदक जित्ने खेलाडीका लागि विशेष पुरस्कारको तयारी परिषद्ले गरिरहेको बताउनुभयो । सदस्य–सचिव विष्टले जुडो पनि पदकको आशा गरिएको खेलमा राखिएको बताउँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरी हालसम्म एसियाली खेलकूदमा जुडोले प्राप्त गर्न नसकेको पदकको खडेरी तोड्दै इतिहास रच्न शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?