भारत–पाक र इमरान खान


पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । तर उनलाई आवश्यक पर्ने मतहरू भने पुगेका छैनन् । यद्यपी साना दलहरूले उनलाई समर्थन गर्ने सम्भावना रहेको बताइएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि उनको पछाडि कसको समर्थन रहेको छ भन्ने चर्चा विश्वभर सुरु भएको छ । त्यसो त नवाज सरिफका समर्थकहरूले खानलाई पाकिस्तानी सेना र त्यहाँको गुप्तचर संस्था आईएसआईको कठपुतली भएको आरोप लगाएका छन् । खानले पछिल्लो दिनमा दिएका भारत विरोधी अभिव्यक्तिहरूलाई नजिकबाट हेर्नेहरूले उनलाई पाकिस्तानी सेनाको समर्थन रहेको र पाकिस्तानी सेनाले त्यहाँको लोकतन्त्रलाई व्यालेट मार्फत् आफ्नो नियन्त्रणमा लिएको दावी गरिरहेका छन् । क्रिकेटबाट राजनीतिमा उदाएका खानले चुनावका बेलामा जुन प्रकारको प्रचार शैली अपनाए त्यसबाट भारत पाकिस्तान सम्बन्धमा सुधार आउने अनुमान गरिनु धेरै हतार हुनेछ । किनकी उनले पनि तिनै कुरालाई आफ्नो साहारा बनाए जुन यस अगाडिका पाकिस्तानी शासकहरूले बनाउने गरेका थिए । यद्यपी उनी क्रिकेटबाट आएका कारण केही मानिसहरूले सम्बन्ध सुधारको अपेक्षा गरेका छन् । तर धरातल त्यस्तो छैन ।
क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएसँगै क्रिकेटबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका खानलाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रूपमा हेरिएको छ र उनी त्यसका लागि तयार छन् । तर एउटा हेलिकोप्टर भ्रष्टाचार प्रकरणमा उनलाई अदालतले बयान दिन बोलाएको छ । अगस्ट ७ का दिन उनले त्यो बयान दिने छन् । उनले चुनाव पूर्व गरेका घोषणा र प्रतिवद्धताहरूलाई हेर्ने हो भने त्यो लागू गर्नका लागि पाकिस्तानी सेनासँग उनको मतभेद हुने स्पष्ट छ । उनले धेरै लोकप्रिय कुरा गरेका छन् । त्यसलाई लागू गर्न उनीसँग अर्थतन्त्रको सजिलो तथ्यांक छैन । पाकिस्तानी शासकले त्यहाँको अर्थतन्त्रलाई बलियो बनाउनका लागि भारतसँग सम्बन्ध सुधार गर्नुपर्ने हुन्छ । तर इमरान खानलाई पछिल्लो पर्दाबाट समर्थन गरिरहेको पाकिस्तानी सेनाले तत्काल भारतसँग सम्बन्ध सुधार हुन दिने लक्षण छैन । केही अतिवादी समूह लगायत त्यहाँका इस्लामिक कट्टरपन्थीहरूलाई भारत विरुद्ध उकासेको पाकिस्तानी सेनाले सहजै त्यो काममा उनलाई सघाउने छैन । कारगिल युद्धपछिको पाकिस्तानी सेनाले उसको त्यो पराजय विर्सेको छैन । त्यस्तो अवस्थामा उनले पाकिस्तानलाई आर्थिक रुपमा अगाडि बढाउनका लागि साहसिक काम गर्न सक्ने छैनन् । त्यसो नगर्दा उनी पाकिस्तानमा लोकप्रिय हुने कुरो छैन ।
त्यसो त पाकिस्तानी किक्रेट जगतमा प्ले व्याइको रुपमा चर्चामा आएर पाकिस्तानलाई विश्वकप दिलाएका इमरानको काँधमा चोट लागेकाले क्रिकेट खेलबाट संन्यास लिएर राजनीतिमा प्रवेश गरेका थिए । त्यो बाटो उनका लागि अहिले सुखद् सावित भएको छ । चर्चित क्रिकेट खेलाडीको रूपमा छवि बनाएका इमरान अहिले विश्वका त्यस्ता पहिलो व्यक्ति भएका छन् जो क्रिकेट खेलबाट राजनीतिक मैदानमा प्रधानमन्त्री बन्दै छन् । भारतीय पूर्व क्रिकेटर कपिलदेवले पत्रकारलाई भने इमरान खान खेलमा अर्को पक्षसँग समझदारी गर्ने मानिस थिए अब प्रधानमन्त्री बनेपछि छिमेकी भारतसँग समझदारी गर्न सके भने त्यो उनको सफलता हुनेछ । म उनलाई एउटा क्रिकेट खेलाडी प्रधानमन्त्री बन्ने अवस्थामा पुगेकोमा बधाई दिन्छु । तर कपिल देवले बधाई दिए पनि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमा उनलाई शुभकामना दिए पनि धरातलको अवस्था के हो भने पाकिस्तानको सेना र त्यहाँको गुप्तचर संस्था कश्मीरको धन्दालाई बन्द गर्ने अवस्थामा छैनन् । जबसम्म कश्मीरमा पाकिस्तान संरक्षित आतंकवाद रोकिदैन भारत पाकिस्तान सम्बन्ध सुधार हुने कुरा केबल चियाको गफ मात्र हो । त्यसैले इमरानले साहसिक रुपमा भारत पाकिस्तान सम्बन्ध सुधार गरे पनि उनको देशको अर्थतन्त्र पनि सुधार हुन सक्छ । तर त्यसका लागि उनले पाकिस्तानका अतिवादी, सेनाका आइएसआईका अधिकारीहरू समेत त्यहाँको भारत विरोधी एउटा एलिट समुदायलाई ठेगान लगाउन सक्नुपर्छ । तर त्यो तत्काल अपेक्षा गरिनु स्वभाविक छैन ।
असनबजारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?