चितवन आर्थिक गतिविधिको केन्द्र: मन्त्री स्थापित


रत्ननगर: चितवनको रत्ननगरस्थित सौराहाचोकमा मंगलबारदेखि बसपार्क सञ्चालनमा आएको छ । अतिक्रमित क्षेत्र खाली गरी १० कट्ठा जमीनमा रत्ननगर नगरपालिकाले मंगलबारदेखि बसपार्क सञ्चालनमा ल्याएको हो ।
बसपार्क उद्घाटन गर्दै प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले नगरको विकासका लागि भौतिक पूर्वाधार जरुरी रहेको बताउनुभयो । चितवन आर्थिक गतिविधिको केन्द्र रहेकाले यहाँको विकासले देशलाई नै प्रभाव पार्छ, उहाँले भन्नुभयो, “चितवन इकोनमिक इञ्जिन हो, यहाँ जे भन्यो त्यही छ, चितवनको विकासमा मेरो योगदान रहन्छ ।”
मन्त्री स्थापितले चितवनमा खानेपानी तथा सरसफाइको नमूना योजना सञ्चालन गर्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि प्राविधिक ल्याएर अध्ययन गराउने आश्वासन दिनुभयो । प्रदेश नं ३ का सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले बसपार्क निर्माणले यहाँको सवारी पार्किङको समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो । करीब रु ४० लाखको लागतमा सञ्चालन भएको बसपार्कमा नगरका सवारी पार्किङ गरिने र यात्रुहरु यहीबाट चढ्ने र ओर्लने व्यवस्था मिलाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ढुङ्गानाले बताउनुभयो । कार्यक्रममा बसपार्क निर्माणका लागि जग्गा दान गर्ने लक्ष्मी खड्गी, शान्ति शाही, राजेश शाही, शैलु केसी, गौप्रसाद श्रेष्ठ र चन्द्रिका केसीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?