प्रदेश नं ७: सभामुखसमक्ष प्रतिवेदन पेश


धनगढी: प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि सुझाव पेश गर्न प्रदेशसभामा गठित विशेष सुझाव समितिले आज आफ्नो प्रतिवेदन सभामुखसमक्ष पेश गरेको छ । सभामुखको कार्यकक्ष धनगढीमा आज समितिले तयार पारेको प्रतिवेदन बुझेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिनुहुँदै सभामुख अर्जुनबहादुर थापाले प्रतिवेदनमा उल्लिखित सुझावलाई उपयुक्त समयमा प्रदेशसभामा छलफलका लागि लैजाने जानकारी दिनुभयो ।
सभामुख थापाले भन्नुभयो, “यो विषयमा लामो समयसम्म अनिर्णयको बन्दी बनाएर जाँदैनाँै, सबैको अपनत्व हुने गरी सबैका विचार र भावनालाई समेट्ने गरी काम गरिनेछ ।” विशेष सुझाब समितिका संयोजक एवं प्रदेशसभा सदस्य तारा लामा तामाङले समितिमा रहेका सबै सदस्यको सर्वसम्मतिले प्रतिवेदन बुझाइएकाले प्रदेश सभाबाट पनि सर्वसम्मतिले पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशको प्रदेशसभाका र प्रतिनिधिसभाका अधिकांश सदस्य र अन्य सरोकारवालासँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको तामाङले स्पष्ट पार्नुभयो । प्रतिवेदनमा उल्लिखित सुझावका कुराहरु भने भन्न नमिल्ने तामाङले बताउनुभयो । गत साउन १४ गते यो विशेष सुझाव समिति गठन भएको थियो । शुरुमा एक साताको समय दिएर सभामुखले गठन गर्नुभएको यो समितिको म्याद यो अवधिमा तीन पटक थपिएको थियो । सरोकारवालाहरुसँग परामर्श लिन समय लागेपछि समितिलाई सुझाव दिन पनि सकस भएको थियो । प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक तामाङको संयोजकत्वमा गठित सो समितिमा सत्तापक्षकै प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी र बलदेव रेग्मी तथा प्रतिपक्ष नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य श्यामलाल राना थारू सदस्य हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?