बिपीको विचार जनतामाझ लैजानुपर्छ: डा रिजाल


काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले विश्वेश्वरप्रसाद कोइरालाको विचारलाई जनतामाझ लैजानुपर्ने बताउनुभएको छ । एक सय पाँचौँ बिपी जन्मजयन्तीका अवसरमा काङ्ग्रेस धनकुटा काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काङ्ग्रेसको सङ्गठन’ विषयक कार्यक्रममा उहाँले बिपीको विचारलाई आत्मसात् गरी पार्टी सधँै जनतामाझ हुनुपर्ने बताउनुभयो ।
“बिपीका बारेमा धेरै चर्चा हुने गर्छन्, मानिसको व्यक्तिगत सोचलाई सीमाभित्र नराखेर अघि बढ्ने व्यक्ति बिपी कोइराला हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । नेता रिजालले राष्ट्रियता खतरामा परेको बेला बिपी कोइराला जनताका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको स्मरण गर्नुभयो ।
काङ्ग्रेस धनकुटाका पूर्वसभापति एवम् पूर्वसांसद मनोहरनारायण श्रेष्ठले पार्टी नेतृत्वले समय र विधानअनुसार चल्न नसकेका कारण पार्टी कमजोर भएको बताउँदै “पार्टीभित्र रहेको गुट, उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुँदैन”, भन्नुभयो ।
काङ्ग्रेस धनकुटाका पूर्वसभापति हरि अधिकारीले बिपीको विचार अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै पार्टी नेतृत्वले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काङ्ग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिका सभापति भीमबहादुर थापाले विधानअनुसार सबैलाई समेटेर अगाडि बढेमात्र काङ्ग्रेसको सङ्गठन बलियो हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?