खेलकूद क्षेत्रमा लगानी गर्नपर्ने: प्रवक्ता शर्मा


हिलिहाङ, पाँचथर: नेपाल तरुण दलको ६६औँ स्थापना दिवसको अवसरमा पाँचथरको फिदिममा आजबाट पालिकास्तरीय दोस्रो तरुण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खेलकूद क्षेत्रमा राज्यले लगानी गर्नसके युवा खेलकूदप्रति आकर्षण हुने बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा हिलिहाङलाई शून्यका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ सेमिफाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङका लागि पहिलो हाफको २७ आँै मिनेटमा सोमकुमार राई र दोस्रो हाफको ३८आँै मिनेटमा सुनील राईले गोल गरेका थिए ।
यस्तै हिलिहाङका रोधन सुहाङले दोस्रो हाफको ५०आँै मिनेटमा आत्मघाती गोल गरेका थिए । आजको खेलमा मिक्लाजुङको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गरेका मेहरमान खवास ‘म्यान अफ दि म्याच’ घोषित भए । प्रतियोगिताको विजेताले नगद रु एक लाख एक हजार १६६ र उपविजेताले नगद रु ५१ हजार १६६ राशि प्रदान गरिने नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनुभयो । आगामी कार्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?