पञ्चासेमा १० अर्बको लगानीमा केबलकार बन्ने


कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।

धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए ।

पञ्चासे पुग्न हाल कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिंडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।

२ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्न निर्माण गर्न लागिएको केवलकारको माथिल्लो स्टेशन पञ्चासेबाट १ किलोमिटर तलको ताल नजिक रहेको छ भने तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहनेछ । यसको लम्बाई ८.५ किलोमिटर रहने बताइएको छ । केबलको लागत ३ अर्बको रहने परियोजनाले जनाएको छ । केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।

यहाँ निर्माण हुने केवलकारको दैनिक दश हजार मानिस बोक्ने क्षमता हुने शर्माले बताए । उनका अनुसार केबलकारमा एक पटकमा दुई हजार चार सय मानिसले आवतजावत गर्न सक्छन् । दैनिक दश हजार मानिस बोक्ने क्षमता भए पनि शुरुमा पाँच हजार मानिसबाट सेवा दिइने उनले बताए ।

पर्यटक तान्न हेरिटेज प्लाजादेखि फनपार्कसम्म

परियोजनाले पञ्चासेमा पर्यटक आकर्षित गर्न केबलकार निर्माणसँगै अन्य संरचनाहरु पनि निर्माण गर्न लागेको छ । १० अर्बको योजनामध्ये  ३ अर्ब केवलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने भएको छ । ३ हजार रोपनीमा घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान बेच्नका लागि राखिने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।

परियोजना अन्तर्गत वाटर सोज (फाउन्टेन म्यूजिकल) बनाइने भएको छ । जहाँ रातिमा पानीको म्याजिक अर्थात पानीबाट विभिन्न रंगीबिरंगी कलात्मक प्रस्तुति देखाइनेछ ।यसै परियोजनाले पञ्चासेमा श्रवणकुमार आश्रम पनि बनाउनेछ । बुबाआमाको भक्तको आदर्श व्यक्तिको रुपमा लिइने श्रवणकुमारको सम्झनास्वरुप त्यहाँ आश्रम बनाइन लागेको हो । जहाँ असहायः वृद्धवृद्धाहरु राखिनेछ ।

पञ्चासेदेखि चित्रेसम्म जीप फ्लायर निर्माण गरिने परियोजनाका अध्यक्ष शर्माले बताए । पञ्चासेमा बालबालिकालाई आकर्षण गर्न फनपार्क पनि बनाउने तयारी छ । पञ्चासे आएका पर्यटकलाई प्राकृतिक हिसाबले उपचारको ब्यवस्था गर्नका लागि मेडिकल हब बनाउने तयारी छ ।

परियोजनाले स्थानीय सरकार र स्थानीयबासी दुबैसँग कृषि परियोजना सञ्चालनका लागि सहमति पनि लिइसकेको छ । अध्यक्ष शर्माका अनुसार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । त्यहाँ प्रायः सामुदायिक वन, सरकारी वन र केही निजी जग्गाहरु रहेका छन् ।

दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका स्थानीयलाई ३ अर्ब बराबरको शेयर दिइने भएको छ । उक्त शेयर पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले प्राप्त गर्ने परियोजनाले जनाएको छ । त्यसका अलावा कर्पोरेट, पत्रकार, सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने तयारी पनि परियोजनाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?