भरतपुर महानगरः रेनु-प्रचण्ड राजनीति घोषणा


गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा चर्चित बन्यो भरतपुर महानगर । देशभित्रबाट मात्रै होइन, विदेशबाट समेत भरतपुरका विषयमा निकै चासोका साथ हेरिएको थियो । भरतपुर यसकारण चर्चित बन्यो, पहिलो भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसको समेत सर्मथनमा प्रचण्डपुत्री रेनु दाहाल उम्मेदवार बन्नु ।

प्रचण्डको राजनीतिक उत्तराधिकारी पनि रेनु दाहाल नै हुन् भन्ने सर्वसाधारणसम्मको बुझाइका कारण पनि देशविदेशमा भरतपुर महानगर चर्चाको शिखरमा रह्यो । अर्को, मतगणनाका क्रममा मतपत्र च्यातिएपछिको अवस्था । नेपाली कांग्रेससँगको गठजोडबाट भएको निर्वाचन, मतगणनाकै क्रममा मतपत्र च्यातिएपछिको अवस्था, सोपश्चात तत्कालीन एमालेद्वारा पदभार ग्रहण नै बहिस्कार, कार्यपालिकामा कांग्रेसको समेत मत खाँदै एमाले बहुमतमा पुग्नुर र पुनः केहीदिनभित्रै एमाले माओवादी मिलेपछिको अप्रत्यासित मिल्दो संयन्त्र । यी सबै घटनाक्रम राजनीतिक थिए ।

राजनीतिको खेल केन्द्रमा हेरिरहेका चितवनवासीले यी घटनाक्रमलाई नजिकबाट आँखै अगाडि नियाले । यी घटना सायद भरतपुरका जनताको मानसपटलमा अब धुमिल हुन थाले होलान् ।

निर्वाचनको समयमा मेयरका उमेद्वार रेनु दाहालले भरतपुर आफ्नो घर भएको र पुनः एकपटक घर फर्किएको बताइन् । भरतपुर महानगरमा रेनुको उम्मेदवारी मंसिर हुने केन्द्रीय संंघको निर्वाचनमा प्रचण्डको उम्मेदवारीको पूर्वतयारीका रुपमा हेरिएको थियो । स्थानीय तहको निर्वाचनले रेनु दाहाललाई मात्रै फाइदा गरेन, संघीय निर्वाचनमा प्रचण्डलाई पनि भारी मतले बिजयको पगरी गुथाइदियो ।

जनप्रतिनिधिविहीन अवस्था, बिकासको तीव्र जनताको चाहना, स्थिर केन्दि्रय सरकार कल्पना गरिरहेका आम नेपाली जनताजस्तै चितवनका जनताको अपेक्षा उही नै थियो । स्थानीय निर्वाचन पश्चात भएको संघीय संसद र प्रदेशको निर्वाचनमा पनि देशैभर बाम लहर सिर्जना भयो । नारा थियो- स्थिर सरकार र आर्थिक समृद्धि ।

विकासको अवस्था र मेयर

गएको १४ महिनामा मात्रै भरतपुर भित्रका ९५ किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएर बिकासको आशा जगाएको छ । अन्य ६५ किलोमिटर सडक व्यवस्थित पनि भएका छन् । जसमा जनसहभागिता निकै उत्साहप्रद देखियो ।

जहाँ पायो, त्यहीँ पार्किङ गर्ने बानी परेका हामी अहिले एउटा निश्चित स्थानमा त जाने बानीको विकास गर्दैछौं । तीनपाङ्ग्रे सवारीका साधनको रुट व्यवस्थापन भएपछि स्वयम् भरतपुरवासीले महसुस गरिरहेका छन् कि यसअघि सडक कस्तो थियो ?

भरतपुर नगरको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि फोहोरबाट उर्जा उत्पादनका लागि कोरियाली कम्पनीसंग अनुदानमै सम्झौता भइसकेको छ । बजार व्यवस्थापनकै क्रममा तरकारी तथा फलफुलको थोक बजार क्षेत्रपुरमा सारिएको छ । यो निजी स्तरबाट गरिएको हो, जुन खालको सहयोग समन्वय भरतपुर महानगर र स्वयम् वडाअध्यक्षहरुले गरे, त्यसको परिणाम निकै छोटो समयमा व्यवस्थित हुँदै गरेको बजार चितवनवासीले देख्न पाए ।

अत्यन्तै चर्चामा रहेको अटोल्याण्ड पनि पक्कै निर्माण हुने देखिएको छ । भरतपुर महानगरले जग्गा दिने वडा नं ३ मा निर्माण गर्ने भनि जग्गाको समेत निर्णय गरिसकेको छ भने अन्य प्रक्रिया अगाडि बढेको छ । यो पनि भरतपुरका लागि गौरवकै योजना हुनेछ ।

यीबाहेक भरतपुर अस्पतालमा महिला तथा बृद्धहरुलाई ओपीडी टिकट नि:शुल्क गर्नु पनि महत्वपूर्ण पक्ष हो । सरकारी जग्गाको खोजी गरी संरक्षण गर्ने अभियान थाल्नु, आवश्यक कानुन निर्माण गर्नु, दूध उत्पादक किसानलाई लिटरमा २५ पैसा अनुदान दिइनु, करमा सबैको सहभागिता गराउन उद्योग वाणिज्य संघ र उद्योग संघलाई सस्थागत रुपमै साथमा लिनु र व्यावसायीहरुकै सहभागितामा निर्णय गर्नुलाई पनि उपलब्धि नै मान्न सकिन्छ । त्यसैगरी महिला, समस्यामा परेका बालबालिका र वृद्धवृद्धासँग मेयर लगायतका कार्यक्रम र निर्णयहरुले महानगरलाई सामाजिक र संस्थागत विकासमा टेवा पुर्‍याउने  नै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?