तेस्रो लिटिल फ्लावर प्रिमियर लिग : फ्लावरलाई उपाधि


यहाँ भएको निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि घरेलु टोली लिटिल फ्लावर बोर्डिङ स्कूल धनगढीले जितेको छ ।

आज भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई सात विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलो पटक उपाधि जितेको हो । पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कूल धनगढीले उपाधिसँगै रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेता बनेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले रु ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

यहाँस्थित सङ्घीय प्रहरी कार्यालयको खेलमैदानमा आज भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको लिटिल बुद्धले २० ओभरमा तीन विकेट गुमाउँदै १४५ रनको योगफल बनायो । लिटिल बुद्धका लागि हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र सुशील खड्काले १९ रन बनाए । लिटिल फ्लावरका शेर मल्लले दुई तथा सागर भण्डारीले एक विकेट लिए । १४६ रनको विजयी लक्ष्य लिटिल फ्लावर स्कूल धनगढीले १८ दशमलब एक ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।

लिटिल फ्लावरलाई उपाधि दिलाउने क्रममा कप्तान विपिन रावलले उत्कृष्ट ७९ रनको जोडे । उनले ४१ बलमा ११ चौका र एक छक्का प्रहार गरेका थिए । दीपक रोकायाले अविजित २४, अनिल थापा र विशाल भट्टले १४÷१४ रन बनाए । लिटिल बुद्धका लागि नारायण जोशीले दुई विकेट लिएका थिए । गत कात्तिक २७ गतेदेखि शुरु भएको प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज‘ नेपाली अण्डर १९ टोलीका सदस्य शेर मल्ल, ‘बेस्ट ब्याटसम्यान’ सिद्धार्थ शिशु सदनका खड्क बोहोरा, ‘बेस्ट बलर’ लिटिल बुद्ध एकेडेमीका रोचक ऐर र ‘राइजिङ प्लेयर’ लिटिल फ्लावर स्कूल धनगढीका विशाल भट्ट बने । प्रतियोगिताको उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट ब्याटसम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु पाँच–पाँच हजार प्राप्त गरे । प्रतियोगितामा देशभरिका विभिन्न १२ क्रिकेट टोलीले भाग लिएका थिए ।

डिपिएलको निर्देशकमा दास 

आगामी माघ १९ देखि फागुन ४ गतेसम्म यहाँ आयोजना हुने ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) प्रतियोगिताको निर्देशकमा राष्ट्रिय क्रिकेट टोलीका निवर्तनमा कप्तान एवं यू—१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दासलाई नियुक्त गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

रुस्लान डिपिएलको तेस्रो संस्करण अनुमानित रु पाँच करोडको लागतमा सञ्चालन हुन लागेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अनुसार प्रतियोगितामा देशभरका छ वटा फ्रेञ्चाइजी टोलीको सहभागिता रहनेछ । डिसिएका अध्यक्ष सुवास शाहीले डिपिएलको दोस्रो संस्करणमा टोली चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्स सहभागी हुन लागेको जानकारी दिनुभयो । दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टोलीमा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ । टी–२० को आधारमा खेलाइने उक्त प्रतियोगितामा कूल १९ खेल हुनेछन् ।

रुस्लानसँग सम्झौता 

गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लानले डिपिएललाई यस वर्ष पनि मुख्य प्रायोजनको निरन्तरता दिएको छ । आगामी तीन वर्षका लागि रुस्लानले डिसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्झौताअनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ ।

शुक्रबार नै विजय डिस्टिलरी र डिसिएबीच मुख्य सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । विजय डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत शतीश कर्ण र डिसिएका अध्यक्ष शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार मुख्य प्रायोजकबापत विजय डिस्टिलरीले यस संस्करणका लागि नगद र जिन्सी गरी रु एक करोड १० लाख दिने भएको छ । देशकै सर्वाधिक ठूलो धनराशिको क्रिकेट प्रतियोगिताका रुपमा २०७३ र २०७४ मा डिपिएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो । डिपिएल देशमै पहिलो पटक अक्सन गराउने प्रतियोगिता पनि हो ।

दोस्रो संस्करणमा झँै यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक जना पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक जनालाई ‘अर्जुन खड्का स्मृति सम्मान’स्वरुप रु एक–एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
यस संस्करणदेखि डिपिएल प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने आयोजकले जनाएको छ । यसअघि प्रतियोगिता हँुदै आएको सङ्घीय इकाई प्रहरी कार्यालय धनगढीको मैदानलाई वैकल्पिक मैदानका रुपमा तयार गरिने भएको छ । प्रतियोगितामा दर्शकका लागि टिकट दर लिग चरणमा रु ५०, प्ले—अफमा रु ७० र फाइनलमा रु १०० तोकिएको छ । टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला रंगशाला निर्माण अभियानका लागि छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टोलीलाई बाँडिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?