प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ मंगलबारसम्मका लागि स्थगित


काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको संसदीय सुनुवाइ मंगलबारसम्मको लागि स्थगित भएको छ ।

आइतबार सार्वजनिक सुनुवाइ विशेष समितिको बैठकमा सांसदहरुले प्रश्न सोधिरहेका बेला कर्मचारीहरु फाइल बोकेर बैठकबाट बाहिरिएका थिए । बढी काम गर्दा अतिरिक्त पारिश्रमिक पाउनुपर्ने माग राख्दै संसद सचिवालयका कर्मचारी आन्दोलित हुँदै आएका छन् ।

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश जबरालाई सांसदहरुले प्रश्न सोध्दै थिए । तर, ४ बजेपछि कर्मचारीहरु बैठक छोडेर हिँडेपछि अन्तिम निर्णय हुन नपाएको हो ।

बैठकमा कांग्रेसका सांसदहरुले सुनुवाइ आजै सक्नु पर्ने बताएका थिए । उनीहरुले भोलि पनि आफू राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले आजै सुनुवाइ सक्नु पर्ने बताएका थिए । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रश्न सोध्ने सांसदहरु बाँकी रहेकाले जबराको सुनुवाइ सोमबार ११ बजे राख्ने प्रस्ताव गरेका थिए ।

त्यसमा कांग्रेसका सांसदहरुले आफूहरु सोमबारको बैठकमा आउन नभ्याउने बताएपछि सभापति कर्णले प्रस्तावित प्रधानन्यायाधीश जबराको सुनुवाइका लागि मंगलबार ११ बजेका लागि बैठकको मिति तोकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?