रेशम चौधरीको सपथ दिउँसो ३ बजे


काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद रेशम चौधरीको शपथ ग्रहण अपरान्ह तीन बजे लिने भएका छन् ।

यसअघि आज साढे ११ बजे लागि सपथ तय गरिएपनि १२ बजे संसद् बैठक बस्ने भएकाले ३ बजेका लागि सारिएको राजपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

चौधरीले निर्वाचित भएको एक वर्षपछि शपथ ग्रहण गर्न लागेका हुन् ।
चौधरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त हुन् ।
टीकापुर घटनामा सात सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो ।

घटनापछि फरार रहँदै आएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । उनलाई पूर्पक्षका लागि कैलालीको धनगढी कारागारमा राखिएको थियो । पछि अदालतमै अनसन बसेपछि उनलाई काठमाडौं ल्याएर डिल्लीबजार कारागारमा राखिएको थियो ।

टीकापुर घटनापछि फरार रहेका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट लडेका थिए । वारेशमार्फत् उमेदवारी दिएर चुनाव लडेका चौधरी भारी मतान्तरले विजयी भएका थिए ।

हाल डिल्लीबजार कारागारमा रहेका चौधरीले सपथ लिए पनि संसद भवन भने जान नपाउने बताइएको छ ।
सांसद पदको सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?