वाइडबडी खरिद प्रकरणमा मेरो कुनै संलग्नता छैन : मन्त्री अधिकारी


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

पर्यटन मन्त्रलायलमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले भने, ‘विमान खरिद सम्झौता प्रक्रियामा मेरो कहीँ, कुनै पनि किसिमको संलग्नता छैन, मैले यी जहाजहरुको अधिकत प्रयोगमा ल्याउने प्रयास मात्र गरेको छु ।’

उनले नेपाल वायुसेवा निगमलाई पटक–पटक डुबाउने खेल हुँदै आएको आरोप लगाए । मन्त्री अधिकारीले कहि त्रुटी भएको भए अख्तियार लगायत निकायलाई छानविन गर्न समेत आग्रह गरे ।

‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु ।’ मन्त्री अधिकारीले दोषी उम्कन नपाउने र निर्दोष बदनाम नहुने अवस्था हुनु हुँदैन भन्दै यसमा जो सुकै संलग्न भएको भए कारबाही हुनुपर्ने बताए ।

निगमका वाइडबडी खरिदका सम्बन्धी प्रक्रिया २०७१/७२ बाटै शुरु भएको भन्दै त्यहिबेलाको बजेट वक्तव्यबाटै बजेट विनियोजन हुँदै आएको मन्त्री अधिकारीले बताए ।

उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रक्रिया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रक्रियामा आफूले निरन्तरता दिएको बताए ।

आफूले यो प्रक्रिया रोकेको भए निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था रहेको उनको भनाइ छ ।
उनले निगमले किनेका वाइडबडी वोलपत्र आह्वान गरेर प्रतिस्पर्धाकै आधारमा खरिद गरेको पनि दाबी गरे । मन्त्री अधिकारीले आफूले निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएको समेत दाबी गरे ।

संसद्को सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले जहाज खरिदमा अनियमितता भएको भन्दै त्यसमा संलग्न झन्डै तीन दर्जन पदाधिकारीलाई दोषी आरोपित गरेको छ ।

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?