मानव बेचविखनमा मुछिएकी राजदूत शेर्पाले दिइन् राजीनामा


काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन् ।

उनले परराष्ट्र मन्त्रालयमै पुगेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई राजीनामापत्र बुझाएको स्रोतले बताएको छ ।
शेर्पा मानव बेचविखनमा संलग्न रहेको विवादमा मुछिएकी थिइन् ।

राजदूत शेर्पामाथि छानबिन चलिरहेको थियो । शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए । शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका थिए ।

सवारी चालकले राजदूत शेर्पामाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्रले उनीमाथि स्पष्टीकरण सोधेको थियो ।

शेर्पाले लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई काठमाडौं बोलाएको थियो ।

शेर्पाले भने आफूविरुद्ध लगाइएको आरोप निराधार रहेको बताउँदै आएकी छिन् । यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको सञ्चारमाध्यममा समाचार प्रशारण भएको थियो । तर, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समाचारको खण्डन गर्दै राजदूत शेर्पाका विषयमा कुनैपनि निर्णय नभएको स्पष्ट पारेका थिए ।

शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र)को कोटाबाट राजदूत नियुक्ति भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?