जापानी विदेशमन्त्रीेद्वारा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग भेट


काठमाडौं । नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा रहेका कोनोले शितल निवासमा राष्ट्रपति भण्डारी र बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।

सो अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।
मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले बताए ।

प्रधानमन्त्री ओलीको अनुरोधलाई सकारात्मक रुपमा लिएको र जापानले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी सल्लाहकार भट्टराईले दिए ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय संगठनको विकास हुनुपर्नेमा जोड दिँदै मन्त्री कोनोले जापानले सहयोग गर्ने पनि बताएको उनले जानकारी दिए ।

भेटमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलंकी–नागढुंगा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?