एक केजी, ७ सय ५७ ग्राम सुनसहित ६ जना पक्राउ


सिराहा । प्रहरीले सिराहाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७ सय ५७ ग्राम ७२० मिलीग्राम सुनसहित ६ जना पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको टोलीले शनिबार बिहान करीब दुई बजे काठमाडौंतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिप चेकजाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरेको हो ।

उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत प्रहरी टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल सेट समेत बरामद गरेको छतकुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?