लागुऔषध तस्करीको आरोपमा चीनमा क्यानडेली नागरिकलाई मृत्युदण्ड


चीन । लागुऔषध तस्करीको आरोपमा चीनको अदालतले एक क्यानडेली नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई मृत्युदण्डको फैसला सुनाइएको हो । सन् २०१८ मा उनलाई १५ वर्षको जेल सजाय तोकिएको थियो ।

तर त्यसविरुद्ध गरिएको अपिलमा सुनुवाई गर्दै अदालतले यसअघिको सजाय निकै उदार रहेको भन्दै मृत्युदण्डको फैसला गरेको हो । चीनको टेलिकम कम्पनी हुवाईकी प्रमुख फाइनान्स अफिसर मेङ्ग वान्खा क्यानडामा पक्राउ परेको केही हप्तापछि चीनले रोबर्टमाथिको सजायको फैसला बदलेको हो ।

यसले क्यानडा र चीनबीचको कूटनीतिक सम्बन्धमा तनाव आउने अनुमान गरिएको छ । क्यानडाले पछिल्लो फैसलाको निन्दा गरेको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरुका लागि यो गम्भीर चासोको विषय रहेको बताएका छन् । यो आफ्ना सबै अन्तर्राष्ट्रिय सहयात्रीका लागि पनि गम्भीर चासोको विषय बन्नु पर्ने ट्रुडोले उल्लेख गरेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?